वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्सामा इजलास कक्ष निर्माण गरिएको छ। कार्यालयमा नवनिर्मित इजलास कक्षको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक कार्यक्रमविच उद्घाटन गरेका हुन्।
सोही कक्षबाट मुद्दाहरुको सुनुवाइ शुरु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ। इजलास कक्षमा सुबिधा सम्पन्न कठघरा बनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले हेर्ने अभद्र व्यवहार,जुवा ऐन अन्तर्गतका मुद्दाहरुको बहश,पैरवी र फैसला सोही कक्षबाट हुनेछ। प्रमुख जिल्ला अधिकारी अर्यालको पहलमा उक्त सुबिधा सम्पन्न इजलास कक्ष स्थापना भएको हो।
जिल्ला प्रशासनमा इजलास कक्ष नहुदा मुद्दाहरुको सुनुवाइमा असहजता हुँदै आएको थियो।
जिल्ला प्रशासन कार्यालयले बितेको तीन महिनामा ८८ वटा मुद्दा दर्ता भएकोमा ७६ वटा मुद्दा फर्छयौट गरेको छ।
जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कार्तिकमा ३४ वटा मङ्सिरमा २६ र पुसमा २८ वटा मुद्दा दर्ता भएको थियो।
सोही अवधिमा चार सय ४१ वटा ठाडो उजूरी पनि दर्ता भएको जिल्ला प्रशासनले जानकारी दिएको छ ।

