बर्दिबासमा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनबारे अन्तर्क्रिया तथा निरीक्षण कार्यक्रम सम्पन्न

साझेदारी डेलि
76 पाठक संख्या

बारा । बर्दिबासमा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका विषयमा अन्तर्क्रिया तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्साल काठमाडौंको आयोजनामा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय र सहकार्यमा शुक्रबार बर्दिबास उद्योग वाणिज्य संघको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रममा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा समसामयिक ट्राफिक चुनौतीहरूबारे छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिसहित प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार सारु मगर र प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले सहभागी नागरिकहरूबाट उठाइएका जिज्ञासा तथा सवालहरूको जवाफ दिँदै नागरिक सुनुवाइ गरेका थिए।

उनीहरूले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र नागरिक–प्रहरी सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुवनेश्वर तिवारी र एसपी ज्ञानेन्द्रबहादुर बस्नेतले उक्त प्रहरी कार्यालयको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनीहरूले कार्यालयको कार्यसम्पादन, सेवा प्रवाह तथा व्यवस्थापनको अवस्थाबारे जानकारी लिँदै उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका थिए।

उनीहरूले प्रहरी कर्मचारीहरूको गुनासा, समस्या तथा सुझावहरू समेत सुन्दै समसामयिक सुरक्षा चुनौतीहरूको सामना गर्न व्यावसायिकता, अनुशासन र सेवामुखी कार्यशैली अपनाउन निर्देशन दिएका थिए।

Leave a review

This will close in 0 seconds