कलैया । बाराको पचरौता नगरपालिका–६ पकडियास्थित लक्ष्मिनिया पोखरीको डिलमा भएको हत्या प्रकरणका एक फरार आरोपितलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८० असोज ९ गते साँझ अजित कुमार सिंहको गोली हानी हत्या गरिएको थियो। उक्त घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमती सोनम सहनी, रञ्जित मुखिया र रूपेश कुमार महतोविरुद्ध अनुसन्धान अघि बढाइएको थियो।
घटनापछि फरार रहेका भारतको बिहार राज्य, मोतिहारी जिल्ला दरपा थाना अन्तर्गत तिनकोनी ग्राम पञ्चायत निवासी ३० वर्षीय रञ्जित मुखियालाई प्रहरीले घटनाको करिब तीन वर्षपछि बुधबार बारा जिल्लाको पचरौता नगरपालिका–४ बेल्दारीबाट पक्राउ गरिएको थियो।
पक्राउ परेका मुखियालाई आवश्यक अनुसन्धान गरी जिल्ला अदालत बारामा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार आज पुर्पक्षका लागि कारागार कार्यालय वीरगञ्ज, पर्सामा थुनामा पठाइएको बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्


