कलैया बजार तथा पार्किङ व्यवस्थापनका लागि जेनजी एण्ड युृथ अफ बाराद्वारा ज्ञापनपत्र पेश

साझेदारी डेलि
89 पाठक संख्या

कलैया । कलैया बजार तथा पार्किङ व्यवस्थापन लगायतकाको माग राखि जेनजी एण्ड यूथ अफ बाराले मंगलबार ज्ञापनपत्र बुझाएको छ।

युथका अध्यक्ष सौरभ पाण्डेको नेतृत्वमा गएको टोलीले कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह र जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो।

कलैया उपमहानगरपालिका जिल्लाकै प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र रहेको ज्ञापनपत्रमा लेखिएको छ। बजार व्यवस्थापन तथा पार्किङ व्यवस्थापनको अभावका कारण सहर अस्तव्यस्त, अव्यवस्थित तथा कुरुप बन्दै गएको अवस्था रहेको ज्ञापनपत्रमा लेखिएको छ। विभिन्न समयमा बजार तथा पार्किङ व्यवस्थापनका प्रयासहरू भए पनि तिनलाई निरन्तरता दिन नसक्दा समस्या पुनः दोहोरिने गरेको छ।

यस समस्याको दीर्घकालीन समाधान गरी कलैयालाई स्वच्छ, सुन्दर, व्यवस्थित तथा आधुनिक सहरको रूपमा विकास गर्न आवश्यक पहल गरिदिन ज्ञापनपत्रमा अनुरोध गरिएको छ।

बजार व्यवस्थापनका लागि उद्योग वाणिज्य संघ, विभिन्न व्यवसायीहरू किराना, कपडा, मासु माछा लगायत, अटो, इभी. म्याजिक, बस व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूको एक–एक जना प्रतिनिधि सहभागी हुने गरी सर्वपक्षीय बैठक आयोजना गर्न ज्ञापनपत्रमा माग गरिएको छ। सहमतिका आधारमा बजार तथा पार्किङ व्यवस्थापनको कार्य अघि बढाउन भनिएको छ। कलैया बजार क्षेत्रभित्र जथाभावी मोटरसाइकल पार्किङ गर्न रोक लगाई व्यवस्थित पार्किङ स्थलको व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ।

घण्टाघर आसपास अव्यवस्थित रूपमा रहेको अटो इभी तथा सुमो पार्किङलाई श्री ३ चन्द्र माध्यमिक विद्यालय नजिक निर्माण गरिएको नयाँ पार्किङ क्षेत्रमा व्यवस्थापन गर्न तथा घण्टाघरको पश्चिमतर्फको भागलाई मोटरसाइकल पार्किङका लागि मात्र प्रयोग गर्न ज्ञापनपत्रमा सुझाव दिइएको छ।

भरतचोक क्षेत्रमा रहेको अटो इभी तथा म्याजिक पार्किङलाई रामजानकी मन्दिर आसपास रहेको खालि ठाउँ वा अन्य उपयुक्त स्थानमा व्यवस्थापन गरी ट्राफिक चाप न्यूनीकरण गर्न ज्ञापनपत्रमा माग गरिएको छ।

अटो व्यवसायीहरूको मागअनुसार भरतचोक क्षेत्रमा यात्रु चढाउने तथा ओराल्ने प्रयोजनका लागि सीमित ३–४ वटा अटो अट्ने स्टप तोकिनुका साथै सबै अटोहरूलाई सम्बन्धित पार्किङ स्थलमै पार्किङ गर्न अनिवार्य व्यवस्था गर्न माग गरिएको छ।

यात्रु चढाउने तथा ओराल्ने कार्यपछि अटो तत्काल पार्किङ स्थलमा फर्कने व्यवस्था लागू गर्न भनिएको छ। हाल बजार क्षेत्रभित्र र बाहिर अत्यधिक भीडभाड तथा चाप बढिरहेको हुँदा कृषि बजारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याई कलैया बजार र कृषि बजार दुवै क्षेत्रमा व्यवस्थित व्यापारिक गतिविधि सञ्चालन गर्न माग ज्ञापनपत्रमा गरिएको छ।

दरबारचोक क्षेत्रमा रहेको माछा बजारलाई कृषि बजारभित्र स्थानान्तरण गरी व्यवस्थित व्यापारिक वातावरण सिर्जना गर्न भनिएको छ। कलैया बजार तथा कृषि बजार बाहेक अन्य स्थान विशेषगरी सडक किनारामा हुने अव्यवस्थित व्यापार तथा पसल सञ्चालनमा रोक लगाई व्यापारलाई तोकिएका बजार क्षेत्रमा मात्र सीमित गर्न ज्ञापनपत्रमा सुझाव दिइएको छ। जसबाट हाल व्यवस्थापन गर्न लागीएको कृषि बजारको प्रवद्र्धन हुनुका साथै सहर थप व्यवस्थित बन्ने विश्वास समेत व्यक्त गरिएको छ।

सम्बन्धित सबै सरोकारवालाहरूको सहभागितामा विस्तृत छलफल गरी आवश्यक सुझाव समेटेर दीर्घकालीन रूपमा कार्यान्वयन गरिदिन अनुरोध समेत ज्ञापनपत्रमा गरिएको छ।

विगतजस्तो केही दिनका लागि मात्र नभई स्थायी समाधान हुने गरी बजार तथा पार्किङ व्यवस्थापन गरिएमा कलैया उपमहानगरपालिकाको सौन्दर्य, व्यापारिक वातावरण तथा नागरिकको दैनिक जीवनमा उल्लेखनीय सुधार आउने विश्वास ज्ञापनपत्रमा व्यक्त गरिएको छ।

यस अभियानमा जेनजी एण्ड यूथ अफ बाराको पूर्ण साथ, सहयोग तथा समर्थन रहने प्रतिबद्धता समेत ज्ञापनपत्रमा व्यक्त गरिएको छ।
कलैया उपमहानगरपालिकालाई सम्बोधन गरी दिइएको ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय कलैया, बारा जिल्ला प्रहरी कार्यालय कलैया, बारा तथा जिल्ला ट्राफिक कार्यालय, बारालाई दिइएको छ।

Leave a review

This will close in 0 seconds