कलैया । बारामा प्रहरीले करिब २३ लाख रुपैयाँ बराबरको खरबुजाको बिउसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार राति सिम्रौनगढ नगरपालिका–६ पावरहाउसस्थित सिम्रौनगढबाट महोत्तरीतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले रोकी चेकजाँच गर्ने क्रममा ट्रकभित्र ३१४ बोरा अन्दाजी १२ हजार ५६० किलोग्राम खरबुजाको बिउसहित ट्रक नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको बिउको अन्दाजी मूल्य २२ लाख ९९ हजार २३३ रुपैयाँ रहेको बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिएका छन् । सूचना अधिकारी घलेकाअनुसार खरबुजाको बिउ अवैध रूपमा चोरी निकासी गर्न लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बरामद गरिएको बिउको २२ लाख ९९ हजार २३३ र ट्रकको अन्दाजी मूल्य ३५ लाख गरी ५७ लाख ९९ हजार २३३ रुपैयाँ बराबर रहेको उनले जानकारी दिए । साथै ट्रक चालक परवानीपुर गाउँपालिका–३ निवासी ३१ वर्षीय प्रवेज आलमलाई समेत नियन्त्रणमा लिइएको छ।
बरामद सामान, ट्रक तथा चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको सूचना अधिकारी घलेले जानकारी दिए ।


