पर्सामा स्रोत नखुलेको भारतीय रकमसहित दुई जना पक्राउ

साझेदारी डेलि
27 पाठक संख्या

कलैया । पर्सा प्रहरीले श्रोत नखुलेको भारतीय रुपैयासहित पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर दुई नहर सडकखण्डबाट दुई जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा शनिबार उनीहरुलाई पक्राउ गरेको हो।

ना. १० प ४४६९ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका वडा नं.२ घर भई जिल्ला चितवन माडी नगरपालिका वडा नं.९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र सोही ठाउवस्ने २६ वर्षीय तिलक हिमडुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट श्रोत नखुलेको प्रतिबन्धित भारतीय रु.५०० दरका नोट ३१६ थान एक लाख ५८ हजार, रु.२०० दरका नोट ७५ थान रु. १५ हजार , रु.१०० दरका नोट ३६५ थान रु.३६ हजार पाँच सय गरी जम्मा दुई लाख नौ हजार पाँच सय भारतीय रकम फेला परेको छ।

प्रतिबन्धित भारतीय नोटसहित मोटरसाइकललाई बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिइ प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a review

This will close in 0 seconds