वीरगञ्ज, ०१ साउन । पर्सा जिल्लाका किसानहरुलाई अनुदानमा कृषि उपकरण र विषादी वितरण गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत चैते धान क्षेत्र विस्तार कार्यक्रममार्फत धान जोन इकाई पर्साले जोतपुर कृषि सहकारी संस्था लिमिटेड मार्फत उक्त कृषि उपकरणहरु वितरण गरिएको हो ।
सो अवसरमा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटाका किसानहरुलाई सिंचाइका लागि विद्युतीय मोटर,विषादी छर्कने स्प्रे ट्यांकी,डिजिटल तराजु र जिंक जाइम वितरण गरेको हो।
कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा १५ थान विद्युतीय मोटर,४० थान स्प्रे ट्यांकी,६ थान डिजिटल तराजु र १ हजार प्याकेट जिंक जाइम किसानहरुलाई वितरण गरिएको जोतपुर कृषि सहकारी संस्थाका अध्यक्ष दरोगा मियाँले बताए ।
किसानहरुलाई प्रदान गरिएको उपकरण र विषादीले कृषि उत्पादनमा वृद्धि हुने र कृषिमा आधुनिकीकरणको योगदान पुग्ने अपेक्षा गरिएको कार्यक्रममा बताईयो ।

