करैयामाई गोल्डकपको हिसाब सार्वजनिक,अनुदानको बजेट भन्दा सवा लाख बढी खर्चको दावी

साझेदारी डेलि
26 पाठक संख्या

कोल्हवी । बिनिता चौधरी/ बाराको करैयामाई गाउँपालिकामा आयोजित तेस्रो करैयामाई गोल्डकप–२०८३ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ। गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगितामा भएको आम्दानी, खर्च र बाँकी दायित्वबारे जानकारी दिएको हो।

करैयामाई गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नव जन प्रगति युवा क्लब उमजनका अध्यक्ष मनिन्द्र चौधरीले प्रतियोगिताको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनका अनुसार प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाले ६ लाख ६१ हजार ५०४ रुपैयाँ अनुदान उपलब्ध गराएको थियो।

प्रतिवेदनअनुसार प्रतियोगिता सञ्चालनका क्रममा कुल ७ लाख ७६ हजार ८ सय रुपैयाँ खर्च भएको छ। यसरी गाउँपालिकाबाट प्राप्त अनुदानभन्दा १ लाख १५ हजार २९६ रुपैयाँ बढी खर्च भएको देखिएको छ। उक्त अतिरिक्त रकम चालु आर्थिक वर्षको बजेटबाट भुक्तानी गरिने जानकारी गाउँपालिकाले दिएको छ।

गत जेठ ३१ गतेदेखि असार ७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने टोलीले ७० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेताले ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको थियो।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले स्थानीय स्तरमा खेलकुद गतिविधिलाई निरन्तरता दिन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलमार्फत युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न गाउँपालिकाले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनैना कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, बारा फाउन्डेसनका अध्यक्ष मुना चौधरी, प्रशासन शाखा प्रमुख दीपककुमार पण्डित, क्लबका पूर्वअध्यक्ष रूपनारायण यादव, समाजसेवी दिनेश चौधरीलगायतको उपस्थिति रहेको थियो।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उमेश यादवले सञ्चालन गरेको कार्यक्रममा बारा फाउन्डेसनका अध्यक्ष मुना चौधरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरिनुलाई स्थानीय तहमा पारदर्शिता र सार्वजनिक उत्तरदायित्वको अभ्यासका रूपमा समेत हेरिएको सहभागीहरूले बताएका छन्।

Leave a review

This will close in 0 seconds