मटिअर्वासहित बाराका तीन बीओपीमा नयाँ नेतृत्व, चार अधिकृतको जिम्मेवारी हेरफेर

संदिप प्रसाद यादव
84 पाठक संख्या

कलैया । सशस्त्र प्रहरी बल नेपालले बारा र पर्साका सीमा क्षेत्रमा खटिएका अधिकृतहरूको जिम्मेवारी परिवर्तन गरेको छ। साउन २९ गतेको निर्णयअनुसार बारामा एक जना डीएसपीसहित तीन जना नयाँ अधिकृतलाई विभिन्न सीमा सुरक्षा इकाइमा खटाइएको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद श्रेष्ठलाई नं. १२ गण हेडक्वार्टर बारामा काजमा राख्दै सीमा सुरक्षा गुल्म हेडक्वार्टर मटिअर्वाको जिम्मेवारी दिइएको छ। मटिअर्वा भारतसँगको सीमासँग जोडिएको महत्वपूर्ण सुरक्षा क्षेत्र हो।

यसैगरी निरीक्षक बद्री धरेलले बीओपी कबहीगोठ र निरीक्षक सुरेन्द्रबहादुर मल्लले बीओपी गोलागन्जको नेतृत्व सम्हाल्ने भएका छन्। दुवैलाई नं. १२ गण हेडक्वार्टर बाराबाट काजमा खटाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

यता बारामा दरबन्दी भएका निरीक्षक मुकेश प्याकुरेललाई भने पर्सा पठाइएको छ। नं. १२ गण बारामा कार्यरत प्याकुरेललाई नं. १३ गण हेडक्वार्टर पर्साअन्तर्गत बीओपी भिष्वामा काज खटाइएको छ।

मानवस्रोत विभागको निर्णयअनुसार नयाँ जिम्मेवारी पाएका अधिकृतहरूले भदौ ५ गतेभित्र सम्बन्धित कार्यालयमा पुगेर जिम्मेवारी सम्हाल्नुपर्नेछ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरीपैठारी तथा सीमा अपराध नियन्त्रणमा बीओपीको भूमिका महत्वपूर्ण मानिन्छ।

Leave a review