बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका -१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि बाल सुधार गृह बिरगंज पठाउने आदेश दिएको छ।
बालिकालाई शरीर बन्धक तथा अपहरण, बलात्कार र हत्या गरेको अभियोगमा दर्ता भएको मुद्दामा बुधबार अदालतले थुनछेक आदेश सुनाएको हो। जिल्ला अदालतको १ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले तत्कालका लागि दुवै नाबालकलाई बाल सुधार गृहमा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने आदेश दिएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए।
अदालतले पीडित परिवारलाई सरकारी पीडित राहत कोषबाट २ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउनसमेत आदेश दिएको छ। प्रतिवादीबाट तत्काल क्षतिपूर्ति भराउन सकिने अवस्था नदेखिएपछि सरकारी कोषबाट रकम उपलब्ध गराउन आदेश भएको जनाइएको छ।
यस घटनामा पक्राउ परेका अन्य सात जना उमेर पुगेका अभियुक्तमाथि भने प्रहरीले छुट्टै अनुसन्धान गरिरहेको छ। उनीहरूको हकमा अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विमल खतिवडाले बताए।
बालबालिकासम्बन्धी कानुनी व्यवस्थाअनुसार नाबालकको हकमा २१ दिनभित्र अनुसन्धान सम्पन्न गरी सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोजन दर्ता गर्नुपर्ने भएकाले उनीहरूविरुद्धको अभियोजन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। बालिकाको परिवारसमेत बुधबार भएको बहसका क्रममा अदालत पुगेको थियो।
गत साउन ३१ गते घरबाट हराएकी बालिकाको शव भदौ २ गते जितपुरसिमरा–१ स्थित भक्तिनगरको एक सुनसान घरमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा बालिकामाथि बलात्कारपछि हत्या भएको खुलेपछि घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गर्दै बारा, पर्सालगायत काठमाडौंमा समेत आन्दोलन भएको थियो।
आन्दोलन चर्किएपछि सरकार र पीडित परिवारबीच तीन बुँदे सहमति भएपछि मात्रै बालिकाको अन्त्येष्टि गरिएको थियो।


