कलैया : बाराको आदर्शकोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले गाउँपालिकाको लेखाशाखामा भएको आगजनीको घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन ।
गाउँपालिका अध्यक्ष साह जमुनिया स्थित आफनो निवासमा आईतबार पत्रकार सम्मेलन गरी घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका हुन । उनले घटनामा संलग्न दोषी उम्कन नहुने र निर्दाेषलाई फसाउन नहुने समेत बताए । उनले गत असोज २३ गते बिहीबार आफु उपचारका लागि काठमाण्डौ गएको बेलामा गाउँपालिकाको कार्यालयमा आगजनी तथा तालाबन्दी गरिएको बताए ।
उनले असोज २७ गते सोमबारका दिन स्थानीय प्रहरी प्रशासनको रोहबरमा गाउँपालिकामा गरिएको तालाबन्दी खोल्दा लेखा शाखामा भएको आगजनी बारे थाहा पाएको समेत बताए । उनले आगजनीमा संलग्न जो कोहीलाई पनि कारवाही गरिने बताए।
आगजनीको घटनामा संलगन दोषीलाई कारवाही गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताए । गाउँपालिकाको कार्यालय आफनो नभई नेपाल सरकारको रहेको बताउदै उनले आफु गाउँपालिकाको चौकीदार भएको मात्र बताए ।
गाउँपालिकामा भएको आगजनीमा आफनो कुनै मिलोमतो नरहेको बताए । उनले सिसि टिभी क्यामराको फुटेज प्रहरीले लगि सकेकाले प्रहरीको अनुसन्धान पशचात घटनाको सत्य तथ्य घटना बाहिर आउने अध्यक्ष साहको भनाई छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय प्रदिप कुशवाहा र डिके सिंहलाई पक्राउ गरेको छ।


