जीवन सहारा सहकारीको १६ औँ वार्षिक साधारणसभा सम्पन्न

साझेदारी डेलि
52 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

बारा । बाराको कलैया उपमहानगरपालिका–५ बरेवास्थित जीवन सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। साधारणसभामा संस्थाले आर्थिक वर्ष २०८३/०८४ मा १९ लाख २३ हजार १४२ रुपैयाँ ८० पैसा नाफा आर्जन गर्ने लक्षय रहेको जनाएको छ।

नेपाल रेडक्रस सोसाइटीको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन संस्थाका पूर्वअध्यक्ष रामाधार ठाकुरले पानसमा बत्ती बालेर गरेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो।

साधारणसभामा अध्यक्ष ठाकुरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यप्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित कार्ययोजना प्रस्तुत गरेका थिए। त्यसैगरी, कोषाध्यक्ष महम्मद स्वैब मंसुरले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक शैलेश प्रसाद यादवले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाले उत्कृष्ट बचतकर्ताका रूपमा लालबाबु जयसवाल, उत्कृष्ट ऋणीका रूपमा जोगि ठाकुर तथा उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने सदस्यका रूपमा कैनुल मियालाई सम्मान गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका पूर्वअध्यक्ष तथा प्रमुख अतिथि रामाधार ठाकुरले सहकारी संस्थालाई थप प्रभावकारी बनाउन सञ्चालक समिति, कर्मचारी तथा सम्पूर्ण सेयर सदस्यहरू सक्रिय र जिम्मेवार हुनुपर्नेमा जोड दिए। उनले संस्थाप्रति सकारात्मक सोच राख्दै इमानदारी र आपसी सहकार्यका साथ अघि बढ्नुपर्ने बताए।

उनले संस्थाको आर्थिक अवस्था मजबुत बनाउन बचत गर्ने बानीको विकास गर्न, ऋण लिएका सदस्यले समयमै ऋण चुक्ता गर्न तथा संस्थाको गतिविधिमा सबै सदस्यको सहभागिता बढाउन आवश्यक रहेको बताए ।

त्यसैगरी सभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले सहकारीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने योजनाबारे जानकारी दिए। उनका अनुसार संस्था स्क्यान कार्यक्रममा आबद्ध हुनुका साथै राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा दर्ता भएको छ।

अध्यक्ष ठाकुरले यस वर्षदेखि मोबाइल बैंकिङ तथा एसएमएस सेवा सञ्चालन गर्ने योजना रहेको बताए। त्यस्तै, सामूहिक लघुकर्जा लगानी, कर्जा प्रवाहको मापदण्ड, तरलता व्यवस्थापन, संरक्षित पुँजी फिर्ता कोष तथा कर्मचारीको योग्यता र आचारसंहितासम्बन्धी कार्यविधि निर्माणलाई आगामी कार्ययोजनामा समेटिएको उनले जानकारी दिए।

ऋण असुलीमा समस्या हुँदा संस्थाको आर्थिक अवस्था र नाफामा असर पर्ने भन्दै अध्यक्ष ठाकुरले ऋण असुलीलाई प्राथमिकता दिइएको बताए। ऋण नतिर्ने सदस्यलाई प्रचलित कानुनअनुसार कालोसूचीमा राख्ने तथा आवश्यक कानुनी कारबाही अघि बढाउने प्रक्रियामा संस्था सक्रिय रहेको उनको भनाइ थियो। उनले ऋण असुलीमा सहयोग गर्न सदस्य तथा सम्बन्धित पक्षलाई आग्रहसमेत गरे।

कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बाराका सचिव मुनिन्द्रनाथ शर्मा, सदस्यहरू सचिन्द्र कुमार ठाकुर, रम्भा देवी यादव र सबनम नेशासहित संस्थाका पदाधिकारी, कर्मचारी, सेयर सदस्य, ऋणी तथा बचतकर्ताहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव प्रभु प्रसाद यादवले गरेका थिए।

Leave a review