बारा प्रहरीको ज्यादती विरुद्ध तेस्रो दिन कलैयामा विरोध प्रदर्शन

साझेदारी दैनिक
537 पाठक संख्या

लक्ष्मी खरेल/
बारा प्रहरीले तानाशाहि प्रवृत्ति देखाएर ज्यादती गरेको भन्दै शुक्रवार पनि बारा प्रहरीको ज्यादती विरुद्ध कलैयामा विरोध प्रर्दशन भएको छ । समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव माथी गालि गलौजका साथ प्रहरीले गरेको दुव्र्यवहारको विरुद्ध प्रर्दशन गरिएको हो ।

नेपाली काँग्रेस र नेकपा एसले संयुक्त रुपमा गरेको विरोध प्रर्दशनमा हजारौंको संख्यामा सर्वसाधारणले सहभागिता जनाएका थिए । उनीहरुले मानवता भुलेर जनतालाई दुःख दिने डिएसपी पुरुषोत्तम पाण्डे र इन्सपेक्टर रुपेश साहको निलम्बनको माग सहित प्रर्दशन गरेका हुन् । पछिल्लो समय प्रहरी चलचित्रका पात्र जस्तै मनोमानीमा उत्रीएको तथा शक्तीको दुरुपयोग गरी जनतालाई सताउन अग्रसर रहेको उनीहरुको आरोप छ । माग पुरा नभए अन्दोलन थप चर्काउने उनीहरुको भनाई छ ।

तीन साताअघि भएको सवारी दुर्घटनाका विषयमा पीडितका आफन्त र पीडकबीचको छलफल सहजीकरणका लागि गत मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका यादवलाई प्रहरीले कुटेर घाइते बनाए पछि प्रहरीको निरंकुशता छताछुल्ल भएको हो ।

सौहार्दपूर्ण छलफलका विच सब नेता दलाल हुन्, यिनलाई घिसारेर मर्नेगरी पिट्नुपर्छ भन्दै कड्किएका इन्सपेक्टर रुपेश साहको भनाईमा असहमती जनाउँदा आफुले राणाकालिन दमनको सामना गर्नु परेको पिडित यादवले बताए ।

यादवले सबै नेता दलाल हुन्नन् इन्सपेक्टर साब भने लगत्तै डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले यो नेता बनेर हामलाई सिकाउने को हो ? थुन सालेलाई कुट् भनेर झोक्कींदै आदेश दिए पछि अति अशिष्ट व्यवहारका साथ इन्स्पेक्टर रुपेश साहलगायतले आफूलाई कुटपिट गरेको यादवले बताए । कुटाइले उनको बायाँ आँखा, कान, तिघ्रा, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ भने एमआरआईको विहिबारको रिपोर्ट पछी उपचारका लागि चिकित्सकले दिल्ली जान भनेको यादवले बताए ।

डिएसपि पाण्डेले कपालमा समातेर भुँईंमा पछारेको र बुटले हानेको तथा अझै नेता बन्छस् भन्दै जथाभावी गाली गरेर शारीरिकसँगै मानसिक रुपमा समेत आघात पुर्याएको बताए । प्रहरीले उनलाई केहि घण्टा नियन्त्रणमा राखेरै कुटपिट गरेको थियो ।

हाल उनको उपचार वीरगन्ज १४ बहुअरीस्थित स्पर्श मल्टीस्पेसालिटी अस्पतालमा भइरहेको छ । ५० वर्षीय घाइते भैयाराम महागढीमाई नगरपालिका–७ बेनौली निवासी हुन् भने उनी वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका पूर्वसचिवसँगै पूर्वशिक्षक पनि हुन् ।

बेलुका सवा ७ बजेतिर भएको घटनाका बेला जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटी प्रमुख जिल्ला अधिकारीसहित कार्यालय बाहिर थिए । घटना भएपछि एसपी बोगटी कार्यालयमा आएको र उनले भैयाराम जि त शालिन व्यक्ति हुन् भनि चिनाएपछी मात्रै छाडेको यादवले बताए ।

घटनामा संलग्न भएकालाई कारबाही माग गर्दै कांग्रेस र एकीकृत समाजवादीले प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई बुधबार ज्ञापनपत्र बुझाएको थियो । तर त्यसको कुनै सुनुवाई नभए पछि आफुहरु शान्तिपूर्ण आन्दोलनमा उत्रिएको नेपाली काँग्रेस तथा नेकपा एसले जनाएको छ ।

एसपी बोगटीले नचिनेर यस्तो गल्ति भएको भन्दै घटनाबारे सत्यतथ्य बुझेर पीडितसँग छलफल गरेर विभागीय कारबाही गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कुनै प्रकृया अघि बढेको छैन ।

तीन साताअघि कलैया बघवन सडकमा पिकअप भ्यानले ठक्कर दिएपछि महागढीमाई नगरपालिका–७ बेनौली गाउँका २० बर्षीय सुनिल यादव घाइते भएका थिए । एलएस न्युरो अस्पताल विरगञ्जमा उपचाररत पीडितलाई पीडकबाट उपचार खर्च भराउने विषयमा प्रहरीमा हुँदै गरेको छलफलमा सहजिकरण गर्न भैयाराम त्यहाँ पुगेका थिए ।

 

Leave a review

This will close in 0 seconds