भूमिहीन दलित,भूमिहीन तथा सुकुम्वासीलाई रजघट्टामा जग्गाको निस्सा वितरण

रञ्जन यादव
371 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ रजघट्टामा रहेको भूमिहीन दलित,भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई निस्सा(जग्गा प्राप्त गर्ने प्रमाणपत्र) वितरण कार्य सुरु भएको छ ।

एक कार्यक्रमकाबीच मंगलबार पूर्व मन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सभा सदस्य मञ्जु थापा,जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र वडा अध्यक्ष चयन गुरुङ्गले संयुक्त रुपमा भूमिहीन दलित तथा सुकुम्वासीलाई निस्सा वितरण कार्यको सुरुवात गरेका हुन् ।

वडा नं.१४ मा पाँच सय ५० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरु रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१,२,१५,१७ र २२ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको कार्य अगाडि बढाईएको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

वडा नं.१६ र १८ मा निस्सा वितरण गरिसकिएको छ भने १४ मा वितरण भईरहेको नगर प्रमुख पौडेलले जानकारी दिए । नगर प्रमुख पौडेलले वडा सहजीकरण समितिबाट नै विवाद निरुपण गरेर नगरमा पठाएको खण्डमा काममा कुनै विवाद नभई जग्गा प्राप्तिको प्रक्रिया द्रुत गतिमा अघि बढ्ने जानकारी दिए ।

उनले वडा सहजीकरण समितिमा विवाद भएको खण्डमा सहज रुपमा समाधान गर्न सक्ने हेतुले नगर स्तरीय सहजीकरण समितिमा राष्ट्रिय पार्टीको मान्यता प्राप्त पार्टीका नगर अध्यक्षहरुलाई नै राखेको बताए । त्यस्तै वडा अध्यक्ष गुरुङ्गले तिहार अगाडि सम्ममा निस्सा बितरणको कार्यलाई सकाईसक्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले छिटै नै जग्गाको लालपुर्जा वितरणका लागि प्रक्रिया सुरु हुने बताइएको छ । अब नापी कार्यालयबाट प्राविधिकहरु फिल्डमा गएर नाँपजाँच गर्ने र जग्गा वितरण गर्नका लागि प्रक्रिया अघि बढ्ने छ ।

सो क्रममा उनीहरु बसेको ठाउँमा जग्गा खोजी गरिने र त्यहाँ नपाएको खण्डमा सार्वजनिक जग्गाको खोजी गरिने कार्य हुने जनाईएको छ ।

Leave a review

This will close in 0 seconds