जगदम्बा स्टिलले जग्गा अतिक्रमण गरेको भन्दै अख्तियारमा उजूरी

रञ्जन यादव
295 पाठक संख्या

जगदम्बा स्टिल सिमराले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै उजूरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा आफ्नो  अनुसन्धान अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन १ गते राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई पत्राचार गरेर यस सम्बन्धी सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

आयोगको पत्र पाए लगत्तै वन्यजन्तु विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई पत्र पठाएको छ । उसले पाँच दिन भित्र जवाफ माग गरेको हो ।फागुन १ गते वन्य जन्तु विभागलाई आयोगले पत्र पठाएको हो ।

पत्रमा जगदम्बा स्टिल प्रा.लि.ले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघा भन्दा बढी जग्गा अतिक्रमण गरेको भन्ने सम्बन्धमा के कसो भएको हो, राय प्रतिक्रिया सहित सम्बन्धित कागजात उपलब्ध गराउन भनिएको छ ।

पत्रमा जीतपुरसिमरा उपमहानगरस्थित जगदम्बा स्टिल प्रा.लिले पर्सा राष्ट्रिय निकुञ्जको २५ बिघाभन्दा बढी जग्गा अतिक्रमण गरेको भन्ने सम्बन्धमा के कसो भएको हो, राय प्रतिक्रियासहित सम्बन्धित कागजात उपलब्ध गराउन भनिएको छ ।

निकुञ्जको जग्गा अतिक्रमणको सम्बन्धमा माघ २१ गते आयोगमा उजूरी परेको थियो । वन्यजन्तु विभागको ताकेतापछि पर्सा राष्ट्रिय निकुञ्जले फागुन ९ गते जदगम्बा स्टिललाई पत्राचार गरेको हो ।

उसले उद्योगको भोगचलनमा रहेको जग्गाको विवरण माग गरेको थियो । निकुञ्जको ताकेतापछि उद्योगले फागुन ९ गते ३२ वटा कित्ता नम्बर खुलाएर जवाफ पठाएको छ ।

जसमा उद्योगले विभिन्न मितिमा विभिन्न व्यक्तिबाट जग्गा खरिद गरी भोगचलन गरिरहेको र केही जग्गा व्यक्ति र संस्थाबाट बहालमा लिइ प्रयोग गरिरहेको जनाएको हो । कुनै व्यक्ति, संस्था वा राष्ट्रिय निकुञ्ज तथा कुनै सरकारी जग्गा अतिक्रमण नगरेको दाबी गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जले उद्योगले बुझाएको जग्गाको विवरण सही हो÷होइन भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने जनाएको छ । जगदम्बा स्टिल प्रा.लि.ले २०५० सालमा तत्कालीन पर्सा वन्यजन्तु आरक्षसँगै जोडिएको करिब ८ बिघा नम्बरी जग्गा किनेर बाराको सिमरामा उद्योग स्थापना गरेको हो ।

Leave a review

This will close in 0 seconds