निर्वाचन आचारसंहिता पालन गर्न आग्रह

साझेदारी दैनिक
1k पाठक संख्या

राष्ट्रिय निर्वाचन आयोग काठमाण्डौंले ईलाम तथा बझाङ्ग जिल्लामा लागु भएको निर्वाचन आचार संहिता पालन गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन् ।

इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको रिक्त पदमा र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्यको रिक्त पदमा संवत् २०८१ साल वैशाख १५ गते निर्वाचन हुन गइरहेको छ ।

सो उपनिर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८० चैत्र २८ गते देखि निर्वाचन सम्पन्न नभएसम्म लागूभई सकेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त निर्वाचन आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत,भ्रामक र द्वेषपूर्णसूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने रहेको छ ।

निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने भनि आचारसंहितामा रहेको छ ।

निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्चाउने,दुषप्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टिका टिप्पणी गर्न गराउने नहुने ब्यवस्था रहेको छ ।

त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर,ट्याग,कमेण्ट वा प्रति कमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्र हत्या गर्न,ब्यक्तिगत लान्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउनपूर्ण रुपमा आचारसंहितामा निषेध गरिएको छ ।

आचारसंहिताको उक्त ब्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी आचारसंहिता विपरीतको कुनै कार्य भए गरेमा तत्काल कारवाही गर्न आयोगले जनाएको छ । सामाजिक सञ्जालबाट आचार संहिता उल्लङ्घन सम्बन्धी कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने आयोगले जनाएको छ ।

उक्त कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको लागि आयोगसमक्ष सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन ईकाइ गठन गरी जिम्मेवारी दिने निर्णय आयोगले गरेको विज्ञप्तिमा लेखिएको छ ।

आमसञ्चार माध्यमबाट हुने गलत,भ्रामक,झुठा सूचना,द्वेषपूर्ण अभिव्यक्तितथा निर्वाचनलाई नकारात्मक प्रभाव पर्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ,स्वतन्त्र,निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चार माध्यमको अनुगमन तथा कानून बमोजिम आवश्यक कारबाहीको लागि प्रेस काउन्सिल नेपाललाई लेखी पठाउने निर्णय समेत भएको पौडेलले प्रेस विज्ञप्तिमा लेखेका छन् ।

सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा निर्वाचन आचारसंहिता उल्लङ्घनकर्तालाई तत्काल आवश्यक कारबाही गर्न सम्वन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय समेत आयोगको रहेको छ ।

Leave a review

This will close in 0 seconds