बारामा सर्वदलीय,सर्वपक्षीय सद्भाव र्‍याली निकालियो

साझेदारी डेलि
27 पाठक संख्या

बारा । हालै देशका विभिन्न स्थानमा देखिएका घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बारामा सामाजिक तथा धार्मिक सहिष्णुता सद्भाव कायम राख्न सर्वदलीय–सर्वपक्षीय सद्भाव र्‍याली निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा शनिबार बिहान कार्यालय परिसरबाट सुरु भएको र्‍याली कलैया बजारका विभिन्न क्षेत्रको परिक्रमा गर्दै सम्पन्न भएको हो।

सहभागीहरूले सामाजिक तथा धार्मिक सद्भाव, आपसी भाइचारा र सहिष्णुता कायम राख्नुपर्ने सन्देशसहितका प्लेकार्ड बोकेका थिए। उनीहरूले सबै धर्म र जातको सम्मान गरौं,हिंसा होइन,सहअस्तित्व रोजौ, राष्ट्रिय एकता र शान्ति कायम गरौं,हाम्रो सद्भाव हाम्रो शक्ति,विभेद अन्त्य गरौँ, भाइचारा बढाऔँ,मन जोडौँ, समाज नतोडौँ,जात अनेक,नेपाली एक,शान्ति नै समृद्धिको आधार,सद्भाव नै हाम्रो पहिचान हो,सामाजिक सद्भाव कायम गरौं लगायतका नारा लगाउँदै एकताको सन्देश दिएका थिए।

र्‍यालीमार्फत विभिन्न समुदायबीचको सम्बन्ध थप मजबुत बनाउँदै जिल्लामा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै पक्षलाई आह्वान गरिएको छ।

उक्त र्‍यालीमा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक संघ-संस्थाका अगुवा, विभिन्न समुदायका धर्मावलम्बी, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि, सरकारी कर्मचारीसहित सर्वसाधारणको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds