नेपाल सरकारले सरकारी अस्पताललाई वर्गिकरण गरी निशुल्क दिने भनिएको औषधि अस्पतालको फार्मेसीमा अभाव हुँदा उपचारमा आउने बिरामीहरू नीजि फार्मेसीमा किन्न बाध्य भएका छन् ।
यस्तै समस्या बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालमा पनि छ । सञ्चालन गरेका फार्मेसीले आवश्यक औषधि पर्याप्त मात्रामा खरिद नगर्दा बिरामी तथा सेवाग्राहीहरु भने निजी फार्मेसीबाट औषधि किन्न बाध्य भएका हुन् ।
बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालको फार्मेसीमा औषधि अभाव भएको छ।
सामान्य हाइड्रो इन्जेक्सन,जिवनजल,रुघाखोकी,ज्वरोको जस्ता औषधि पनि अस्पतालको फार्मेसीमा छैन।
अस्पतलमा उपचार गराउन पुगेका अधिकांश बिरामीले अस्पतालको फार्मेसीमा औषधि नहुँदा बाहिरबाट औषधि खरिद गर्नु परेको छ।
सर्वसाधारणलाई सहज र सर्वसुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले सरकारी अस्पतालले आफ्नै परिसरमा फार्मेसी सञ्चालन गरेपनी फार्मेसीमा आवश्यक औषधि उपलब्ध नभएको पाइएको हो ।
शल्यक्रियाका लागि,आई.सि.यु वार्ड,महिला वार्ड,इमर्जेन्सी वार्डमा राखिएका बिरामीहरुका लागी औषधि समेत अस्पतालले सञ्चालन गरेपनि फर्मेसीमा नपाइने बिरामी र बिरामीका कुरुवाहरूले गुनासो गरेका छन् । फार्मेसीमा औषधि उपलब्ध नहुँदा चर्को मूल्यमा बाहिरको मेडिकलबाट किन्नुपर्ने बाध्यता भएको बताए ।
नेपाल सरकारले छुट दिने भनिएको गरिब,विपन्न,हिंसापीडित,ज्येष्ठ नागरिकहरू अपांगता भएका व्यक्तिहरू औषधिमा छुट पाइने ठूलो आशा बोकेर गएका हुन्छन्।
तर अस्पतालको फार्मेसीमा सामान्य किसिमका औषधिको पनि अभाव हुनु दुःख लाग्दो कुरा भएको अस्पताल पुगेका बिरामी रामप्रवेश साहले बताए ।
अस्पताल बाहिर सञ्चालनमा रहेका फार्मेसी र अस्पताल प्रशासनको मिलेमतोमा अस्पतालले सञ्चालन गरेका फार्मेसीमा पर्याप्त औषधिको खरिद नगर्दा अस्पताल फार्मेसीमा औषधिको अभाव भएको अवस्था सिर्जना भएको छ।
स्वास्थ्य बिमा गरेका ज्येष्ठ नागरिकहरूले पनि सास्ती खेप्नुपरेको छ। ज्येष्ठ नागरिकहरू बिमाबाट निःशुल्क उपचार गर्ने आशा बोकेर गएका हुन्छन् तर स्वास्थ्य चेकजाँच अस्पतालमा भए पनि आवश्यक औषधि अस्पतालको फार्मेसीमा नभएपछि बाहिरबाट चर्को मूल्यमा अौषधि किनेर उपचार गर्नुपर्ने बिरामीहरूको दुखेसो छ।
अस्पतालमा चेकजाँच गराउन आउने दैनिक बिरामीको संख्या ५ सय भन्दा माथी रहेको छ भने त्यसमध्ये करिब २ सय जना विमितहरु रहेका छन् । अस्पतालको फार्मेसीमा ४० देखि ५० प्रकारको औषधि रहेको फार्मेसीका कर्मचारी श्याम किशोर ठाकुरले बताए ।
सरकारले ९८ प्रकारका नि.शुल्क औषधि वितरण गरेपनी त्यो औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले समयमा उपलब्ध नगराएपछी औषधिको अभाव भएको फार्मेसीका इन्चार्ज धर्मनाथ प्रसाद यादवले बताए ।
“हामीलाई डाईरेट औषधि खरिद गर्न मिल्दैन “उनले भने । प्रदेश सरकारले उपलब्ध गराइएको औषधि फार्मेसीबाट वितरण गर्ने उनले बताए । नि.शुल्क औषधि हामीले प्रदेश सरकारसंग मागेका थियौ तर अहिले सम्म समयमा औषधि नआएको बताए ।
३ महिना अगाडि टेन्डर खुलेको थियौ त्यो औषधि अर्को हप्तासम्ममा आउने उनले बताए । अस्पतालको फार्मेसीले समयमै औषधि खरिद गर्नतर्फ ध्यान नदिँदा समस्या आएको छ।
यता अस्पतालको ल्याबमा लिभर फ्नसन टेस्ट एल.एफ.टि एवम् लिभर सम्बन्धि चेकजाँच गर्ने मेसिन विगत लामो समयदेखी संचालनमा आएको छैन ।
उक्त मेसिनमा लाग्ने केमिकल र सिडि–८० व्यवस्थापन गर्न नसक्दा मेसिन संचालनमा नआएको अस्पतालका सूचना अधिकारी प्रेम कुमार पण्डितले बताए । उक्त मेसिन संचालनमा ल्याउनलाई दातासमेत खोज्दै छन् ।

