बारामा लागूऔषध कारोबारमा संलग्न दुई युवक पक्राउ

साझेदारी डेलि
97 पाठक संख्या

बारा । बारा प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्लाको बिश्रामपुर गाउँपालिका–२ बरैनिया बजार क्षेत्रमा लागूऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनी, लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्ज र ईलाका प्रहरी कार्यालय छतवाको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला हरपुर पञ्चायत–६ निवासी २१ वर्षीय राकेश कुमार साह र पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठी गाउँका २० वर्षीय अजित मगिज्ञा रहेका छन्।

प्रहरीका अनुसार राकेश कुमार साहले अजित मगिज्ञालाई ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको थियो।

शरीर खानतलासीका क्रममा राकेशले लगाएको कालो हाफ पाइन्टभित्र लुकाइछिपाइ राखिएको अवस्थामा सेतो प्लास्टिकसहित १७ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

उनका अनुसार उनिहरुको साथबाट बीआर ०५ बीटी ३७५६ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकलसमेत नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

Leave a review

This will close in 0 seconds