फतुवा विजयपुरका हाकिम र लेखापालको कारण शिक्षक,कर्मचारीहरुले एकबर्षदेखी तलव भत्ता पाएनन्

साझेदारी दैनिक
267 पाठक संख्या

ओमप्रकाश यादव/

रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षक र कर्मचारीहरुले एक वर्ष देखि तलब पाएका छैनन् । तलव पाउन नसकेका कारण शिक्षकहरु समस्यामा परेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले गएको यहि असार मसान्तमा तलव खुवाउने आश्वासन शिक्षक र कर्मचारीहरुलाई दिएका थिए । नगरपालिकाका कार्यालय प्रमुखले तलवभत्ता निकासा गर्ने आश्वाशन दिएपछि नगरका शिक्षक कर्मचारीहरुले असार मसान्तमा आफुहरुले तलवभत्ता पाउने भन्दै ढुक्क थिए ।

असार मसान्त वितेपनि प्रमुख प्रशासकीय अधिकृत प्रधान र लेखापाल उमेश यादवले तलव निकासा नगरेपछि फतुवा विजयपुर नगरपालिकाका सयौ शिक्षक र कर्मचारीहरु तलव वापतको रकम पाउन नसकेर निराश भएका छन् ।

कार्यालय प्रमुख प्रधान र लेखापाल यादवको बदमासी एवं चरम लापरवाहीका कारण फतुवा विजयपुर नगर क्षेत्रका ३२ सामुदायीक विद्यालयका शिक्षक तथा कर्मचारी प्रभावित भएका हुन् । झण्डै २ सय ५० शिक्षक र अन्य कर्मचारी गरी करिव ३ सयको हाराहारीमा शिक्षक,कर्मचारीहरु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक मसान्तको अन्त्य असारमा पनि तलवभत्ता पाउनबाट बञ्चित भएका छन् ।

नगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान र लेखापाल उमेश यादवले आर्थिक चलखेल र कमिश्नमा लिप्त रहेका कारण विगत १२ महिना भन्दा बढी दिनको तलव भत्ता पाउन नसकेको एकिकृत अखिल नेपाल शिक्षक संगठन रौतहटका अध्यक्ष एवं माध्यमिक विद्यालय शितलपुरका प्रधानाध्यापक बुनिलालप्रसाद यादवले बताएका छन् ।

प्रधानाध्यापक यादवले नगरपालिकाको कार्यालय विजयपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवको बदमासीका कारण नगरका शिक्षक र कर्मचारीहरु तलव भत्ता पाउनबाट बञ्चित भएको आरोप लगाएका हुन् ।

अधिकृत यादवले पटक पटक तलव निकासा गर्ने आश्वासन दिएपनि तलव भत्ता निकास नगरेका कारण विगत १२ महिनाको तलव पाउन नसकेका शिक्षक र कर्मचारीहरुलाई घर व्यवहार चलाउन ठुलो समस्या भएको प्रधानाध्यापक यादवले बताए ।

हाकिम र लेखापालले कमिश्न दिने कन्ट्रक्सन,सप्लायर्स,होटल,प्रेस आदिको चेक काटनेतिर नै ध्यान केन्द्रित गरेको र आफुहरुको तलव सुविधा दिनेतर्फ कुनै चासो नदेखाएका कारण शिक्षक र कर्मचारीहरुको तलव निकासा हुन नसकेको प्रधानाध्यापक यादवको भनाई रहेको छ । आफुहरुको तलव नै नकासा नगरी कार्यालय प्रमुख प्रधान र लेखापाल यादवले मोवाइल स्वीच अफ गरी सम्पर्क विहीन भएपछि आफुहरु झन चिन्तित भएको उनले बताए ।

प्रधान र यादव विगत एक महिनादेखी कार्यालयमा आएका छैनन । उनीहरुले कार्यालय भन्दा बाहिर चन्द्रनिगाहपुरको गोप्य स्थानमा बसेर कार्यालय सञ्चालन गरिरहेका छन् । उनीहरुलाई कहाँ खोज्ने र आफनो तलवको समस्या कसलाई सुनाउने भनी शिक्षक र कर्मचारीहरुलाई चिन्ता लागेको छ ।

हाकिम प्रधान र लेखापालको गैर जिम्मेवारीपूर्ण रवैया र बदमासी विरुद्ध शिक्षक तथा कर्मचारीहरु कडा आन्दोलन गर्ने तयारी गरेको यादवले बताए । प्रशासकीय अधिकृत प्रधान र लेखापाल यादवले असार पहिलो सातादेखी नै कार्यालय आउन छाडेका थिए ।

कार्यालय भन्दा बाहिर चन्द्रनिगाहपुर स्थित गोप्य ठाउँमा बसेर उनीहरुको कमिश्नको भरमा खरिद नै नभएका सामान खरिद भएको कागजमै जनाएर नक्कली विल भर्पाईको आधारमा विभिन्न कन्ट्रक्सन,सप्लायर्स,होटल,प्रेस आदिलाई गरी ९३ लाख भन्दा बढी अवैध रकम निकासा गरी ठुलो आर्थिक अनियमितता गरेको श्रोतको दाबी छ ।

कार्यालयमा कमिश्न लिन सहज नहुने देखेपछि कार्यालय प्रमुख प्रधान र लेखापाल यादवले कार्यालय भन्दा बाहिर बसेर चेक काटेको र अहिले कमिश्न लिएर धमाधम चेक बाड़ने काम गरिरहेको श्रोतको भनाई छ ।

हाकिम प्रधान र लेखापाल यादवले पालिकालाई भ्रष्टाचारको अखडा बनाएको र भ्रष्टाचार तथा आर्थिक अनियमिततामा चुर्लम हुवेको श्रोतको दाबी छ । कार्यालय प्रमुख प्रधान र लेखापाल यादव लामो समय देखि मोबाइल स्विच अफ गरि सम्पर्कविहीन छन ।

उनिहरुले कार्यालयमा न आउदा आम नागरिकको कामकाज प्रभावित भइरहेको छ । लामो समय देखि कार्यालय प्रमुख र लेखापाल जस्तो जिम्मेवार कर्मचारी कार्यालय न आउँदा पनि सम्बन्धित निकायले उनीहरुमाथी कार्यवाही गर्न कुनै चासो लिएको छैन ।

Leave a review

This will close in 0 seconds