साउनको चौथो सोमबारमा रौतहटको शिवालयमा भक्तजनको घुइँचो

साझेदारी दैनिक
539 पाठक संख्या

साउनको चौथो सोमबारमा रौतहटको प्रशिद्ध धार्मिक स्थल शिवनगर लगायतका शिवालयमा भक्तजनको भीड लागेको छ ।

बिहान ४ बजेदेखि नै शिवनगरको अदभूतनाथ महादेव मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको शिव मन्दिरका प्रमुख महन्थ कृष्णदेव गिरिले जानकारी दिएका छन् । भगवान शिवको दर्शनका लागि करीब १० हजार भन्दाबढी भक्तजन मन्दिर परिसरमा लाममा बसेको उनले बताए ।

भक्तजनका लागि सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ । साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा,आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।

रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित शिव मन्दिर,मौलापुर पतौराको पुरातात्त्विक महादेव मन्दिर र नुनथरको शिवालय लगायतका जिल्लाका अधिकांश तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी गाईको दूध चढाउन लामबद्ध भएका थिए।

साउनको पहिलो सोमबारबाट नै गरुडा नगरपालिकाको सहयोगमा स्थानीय तथा बाहिरका सुप्रशिद्ध टिकटाक कलाकारद्वारा भब्य सांस्कृतिक एवं धार्मिक कार्यक्रम भएको थियो ।

कलाकारको बेजोड प्रस्तुतिले दर्शानार्थी समेत रमाएको स्थानीय सिजय कुमार सिंहले बताए ।

दर्शानार्थी लाई लाममा लगाउन तथा मेलालाई शान्ति सुरक्षा प्रदान गर्न ईलाका प्रहरी कार्यालय गरुडा र ईप्रका शिवनगरका प्रहरी तथा शस्त्र प्रहरी समेतले सुरक्षा प्रदान गरेको मेला समितिले जनाएको छ।

Leave a review

This will close in 0 seconds