बारा : कोल्हवी नगरपालिका–५ स्थित सखुववा भन्ने स्थानमा खेतको परालमा लुकाई छिपाई राखिएको अवस्थामा अबैध काठ वन टोलीले बरामद गरेको छ ।
बरामद काठमा साल जातका तीन थान गोलिया करिब १० क्युफिटको रहेको छ। करिब तीन क्युफिटको सिसौको गोलिया एक थान र एउटा साइकल रहेको छ ।
डिभिजन वन कार्यालयका डिभिजनल बन अधिकृत राजीव कुमार झाको विशेष निर्देशनमा सो स्थानमा छापामारी गरिएको कोल्हबी सब डिभिजनका छैठो तहका अधिकृत कृष्णकुमार पटेलले जानकारी दिए।
अवैध काठ ओसारपसारका लागि साइकलको प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ । बरामद काठ र साइकललाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि कोल्हबी सब डिभिजनल वन कार्यालयको प्राङ्गनमा राखिएको जनाईएको छ ।
अवैध काठ तस्करी नियन्त्रणका लागि डिभिजन बन कार्यालय बाराले निगरानी गरी थप कडाइ गर्ने जनाएको छ ।

