एनपिएल बिजेता जनकपुर बोल्ट्सका अनिल र अरनिकोलाई पचरौता नगर प्रमुख सिंहले गरे सम्मान

साझेदारी दैनिक
363 पाठक संख्या

पचरौता : नूर आलम बादशाह/नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई बाराको पचरौतामा बुधबार स्वागत गरिएको छ। खेलाडीहरुलाई सम्मान सहित पचास पचास हजार नगद पुरस्कार प्रदान गरिएको छ।

जनकपुर बोल्ट्सका क्याप्टेन समेत रहेका क्रिकेटर अनिल साह र सोही टीमका अर्का खेलाडी अरनिको यादवलाई पचरौता नगर प्रमुख जलन्धर सिंहले दोसल्ला ओढाई नगद प्रदान गरी सम्मान गरेका हुन्।

जीतको खुशीमा पचरौताका जनप्रतिनिधि,नागरिक समाज,स्थानीय खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराएका थिए। उनीहरुले खेलाडी सहित विजय यात्रा समेत निकालेका थिए।

कोतवालीको नहर चौकबाट विजय यात्रा सुरू भएको थियो। सो विजय यात्रा बेनौली चोक, बेनौली गाउँ हुँदै पालिका परिसरमा सम्पन्न भएको हो। त्यहाँ स्वागत तथा सम्मान कार्यक्रम गरी समापन गरिएको छ ।

नगर प्रमुख सिंहले एनपीएलको प्रथम संस्करणमा ट्रफी हात पार्न सफल भएका जनकपुर बोल्टस टिमलाई बधाई दिएका थिए। उनले टिमको स्वागत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए ।

विजेता टोलीलाई स्वागत गर्न पाउनु पचरौतावासीका लागि गर्वको कुरा भएको सिंहको कथन रहेको हो। नेपाल प्रिमयर लिगले क्रिकेट खेलको विकासका साथै युवाहरुलाई प्रेरणा,दिने उनले जनाए। राष्ट्रिय एकता तथा सकारात्मक बाटोमा हिड्ने प्रेरणा र उर्जा समेत प्रदान गरेको नगर प्रमुख सिंहको भनाइ छ ।

कार्यभार सम्हालेको आर्थिक बर्ष देखि नै पचरौता नगरका खेलाडीहरुलाई तालिम,प्रतियोगिता तथा खेल सामग्रीका लागि नगद राशी सहयोग गर्दै आइरहेको उनले जनाए। यस्तो सहयोग अगामी दिनमा उक्त किसिमको सहयोग निरन्तर रहने प्रतिबद्धता उनले व्यक्त गरे।

पचरौता पालिकाले एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई अभिनन्दन कार्यक्रम आयोजना गरेको थियो । पुस ६ गते शनिबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स च्यापियन्स बन्न सफल भएको हो।

खेलाडीहरुको स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष बनारसी बिनको अध्यक्षता रहेको थियो। विशिष्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत गौरी साह,वडा नम्बर ५ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता लक्ष्मी यादव,वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी,६ का मकबुल मियाँ अन्सारी,८ का प्रेम चौधरी,९ का गगनदेव यादव,अतिथिमा शिक्षा संयोजक पण्डित त्रिपाठी,शिक्षा सहायक मुकेश कुमार सिंह रहेका थिए।

यस्तै स्थानीय समाजसेवी भैयाराम सहनी,विजय पटेल,कलामुद्दीन अन्सारी,भोला अन्सारी,अच्छेलाल प्रसाद यादव,प्रभु ठाकुर,नरेश प्रसाद कुर्मी,उमेश सिंह,प्रमोद सिंह,बिनोद पटेल,सियाराम मुखिया,सकल मुखिया,अवध किशोर प्रसाद यादव,पोषण हजरा,जवाहर साह रौनियार,सोनालाल साह,अमिन मियाँ अन्सारी,इम्तियाज अन्सारी,रोशन अली,जिना खातुन,जगरनाथ मुखिया बिन, शम्भु कुशवाहा,मुन्ना अन्सारी,गोकुल पण्डितको विशेष उपस्थिति थियो ।

उक्त कार्यक्रममा खेलाडीहरु बुधराम मुखिया,मनिर अन्सारी,अरविन्द अकेला,लालु,नगर प्रहरी,सुरक्षाकर्मी लगायत पत्रकारका साथै ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए।
कार्यक्रमको सञ्चालन सबिन्दर सहनीको थियो।

Leave a review