कलैया : राजेश कुशवाहा/ अत्याधिक चिसो बढेपछि बाराको जनजीवन कष्टकर बनेको छ।
दिनभरी नै चिसो हावा चल्ने गरेका कारण हात,खुटृा समेत चिसो हुने थालेको छ। अत्याधिक चिसो बढेपछि मानिसहरुले आगोको सहारा लिन थालेका छन्।
चिसोले बाल बालिका र बृद्धबृद्धालाई समस्या भएको छ। चिसो बढेपछि बाल बालिका तथा बृद्ध वृद्धामा रुघा खोकी,ज्वरो,कोल्ड डायरीया लगायतका रोगहरुको संक्रमण देखिएको प्रादेशिक अस्पताल कलैया अस्पतालले जनाएको छ।
चिसो बढेपछि मानिसहरु अधिकांस समय घर भित्र बिताउन थालेका छन्। काम बिशेषले मात्र मानिसहरु घरबाट बाहिर निस्कने गरेका छन्।
घर बाटै निस्कने परेमा मोटो कपडा लगाएर निस्कने गरेका छन्। चिसोले सडक सुनसान बनेको छ। जिल्ला स्थित सरकारी कार्यालयमा समेत सेवाग्राहीको भिडभाड कम हुन थालेको छ।
चिसोले विद्यार्थीहरुको पठन पाठन समेत प्रभावित बनेको छ। चिसो बढेपछि बाराको सदरमुकाम कलैयामा रहेका रेडिमेड पसलहरुमा मोटो कपडाहरुको बिक्री बढेको छ ।
चिसो उनी,सुईटर,गलबन्दी,टोपी,ज्याकेट लगायतको बिक्री बढेको रेडीमेड ब्यवसायीहरुले बताएका छन्। चिसोबाट बच्नका लागि मानिसहरु तातो खानेकुरा खान थालेका छन् ।
चिसोले कलैया बजारमा माछा,मासु,अण्डाको बिक्री बढेको छ । चिसो बढेपछि कलैया बजारका चिया पसलमा ग्राहकहरुको भिड बढेको छ। अत्याधिक चिसो बढेपछि पशु पालक कृषकहरुलाई घास ल्याउन समस्या भएका पशु पालक कृषकहरुले बताएका छन्।

