जीतपुर : उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितीसँग सरोकारवालाको अन्तरक्रिया कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिकाको सभाहल जीतपुरमा सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठको संयोजकत्वमा ६ जना प्रतिनिधि सभा सदस्यहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा उद्योग क्षेत्रका समस्या एवं चुनौतीको बिषयमा छलफल गरिएको थियो ।
छलफल तथा अन्तरक्रिया समितिका सदस्य एवम् संघीय सासदहरु गणेश पराजुली,महेन्द्र बहादुर शाही,रमा कोईराला पौड्याल,राम शंकर यादब,लक्ष्मी महत्तो कोईरी र सपना राज भण्डारीको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा सहभागिहरुले उद्योगहरुको प्रदुषण,स्थानीयलाई रोजगारी नदिएको,सरकारले तोकेको अनुसार सेवा सुबिधा नदिएको,जन प्रतिनिधिलाई नटेरेको,सार्बजनिक जग्गा कब्जा गरेको,नक्सा पासको समस्या लगायतको बिषयमा कुरा उठाएका थिए ।
जीतपुरसिरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले नगर प्रमुखको अधिकार प्रयोग गरी यहाँ रहेका उद्योगहरुको अबैध संरचना हटाउँन थालियो भने थुप्रै ठुल्ठुला उद्योगको उठिबास हुन सक्ने बताएका छन् ।
उनले प्रत्येक दुई,दुई बर्षमा स्थानीय तहमा गर्नुपर्ने प्रारम्भिक बाताबरणीय परिक्षण (आई.ई.ई.) प्रतिवेदन उद्योगहरुले नगराउँने गरेको दुखेसो गरे । अधिकांश उद्योगहरु मापदण्ड बिपरित प्रदुषण गरिरहँदा चेकजाँच गर्ने आवश्यक उपकरणको अभावमा उनीहरु कार्बाहीबाट बचिरहेको बताए ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी,बारा प्रहरी उपरिक्षक सन्तोष तमाङ्ग ,बारा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरी,उपप्रमुख भोला प्रसाद अधिकारी,जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाई,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,निबर्तमान अध्यक्ष संजय साह,कानुन अधिकृत बालकृष्ण मिश्र,शाखा अधिकृत प्रबिन राई लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रम हुनुभन्दा अगाडि सिमरा सेजमा रहेका उद्योग र नन्दन ध्यु उद्योगको अनुगमन गरिएको थियो।

