कलैया :बाराको कलैयामा रहेको प्रादेशिक अस्पताल परिसरमा रहेको कलैया ब्लड बैंक भवनको नेपालका उपराष्ट्रपति रामसहाय यादवले बुधबार उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वस्थ्य वातावरण,स्वस्थ जीवनको आधार रहेको भनेका छन्।
नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेमा उनले जोड दिए। स्वास्थ्य सेवा मौलिक हक भएको जनाउदै सर्वसुलभ रूपमा गुणस्तरीय सेवा प्रवाहमा कुनै कमजोरी नगर्न चिकित्सकहरूलाई निर्देशन उनले दिए।
ब्लड बैंकले यस क्षेत्रको बिरामीहरूलाई समयमा रगत उपलब्ध गराई जीवन बचाउनमा ठूलो सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्न उनले भने। मुलकमा स्थायी शान्ति,सुशासन कायम गर्न र विकास एवम् समृद्धिका लागि सबै नेपालीहरू एक जुट हुनुको विकल्प नरहेको उनको कथन थियो।
ब्लड बैंक स्थापनाले बारा,पर्सा,रौतहट लगायतका विभिन्न जिल्लाका बिरामीहरूलाई सहज रगत आपूर्ति हुने उनले विश्वास व्यक्त गरे। उक्त नवनिर्मित कलैया ब्लड बैंकको साँचो छाया परियोजनाका कार्यकारी निर्देशक कमल थापाले प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईलाई उक्त अवसरमा हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य किशान श्रेष्ठ,मधेस –प्रदेश सरकारका स्वास्थ्यमन्त्री शत्रुधन महतो,संविधानसभा सदस्य प्रमोद गुप्ता,कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साह लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्को सेवाले नागरिक लाभान्वित हुने बताए।
पूर्व मन्त्री एवम प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले अन्तराष्ट्रिय बिमान स्थल,फास्टट्रेक निर्माण,गढीमाई मन्दिर,सिम्रौनगढ दरवारलाई विश्व सम्पदाको सूचीमा सूचीकृत गर्न माँग गरिन्। ब्लड बैंक रु एक करोड १० लाख रुपैयाँमा भवनको निर्माणमा छाया नेपाल संस्थाको ८० प्रतिशत र अस्पतालको २० प्रतिशत लगानीमा निर्माण गरिएको हो ।
पूर्व अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छठु प्रसाद यादवलाई अस्पतालमा पु-याएको योगदानको कदर गर्दै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्मान गरेका थिए। अस्पतालमा कार्यरत चिकित्सकहरु समेत उक्त अवसरमा सम्मानित भएका थिए।
उक्त समारोहमा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादव,सिम्रौनगढ़ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवार,जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न प्रतिनिधि,जनप्रतिनिधि, स्वास्थ्यकर्मी,सञ्चारकर्मी,समाजसेवीहरूको लगायतको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा स्वागत प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट डा.अजयकुमार गुप्ताले गरे। कार्यक्रमको संचालन सञ्चारकर्मी लक्ष्मी खरेलले गरिन्।
सो अवसरमा उपराष्ट्रपति यादव र संविधानसभाका सदस्य प्रमोद गुप्ता लगायत ३० जनाले एक÷एक पाउण्ड रक्तदान समेत गरेका थिए।


