मलङ्गवा (सर्लाही) । बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् ।
सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले जानकारी दिनुभयो ।
घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छभने प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ । दुवै जनाको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बरहथवा नगरपालिका–४ खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की,५२ वर्षीय कुलबहादुर कार्की,३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो,३८ वर्षीय इन्दु देवी,२६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते हुनुभएको छ ।
घाइतेमध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
झडपमा संलग्न भएको अभियोगमा सातजनालाई नियन्त्रणमा लिइएको छ ।

