कलैया : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ खुटुवा जब्दीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सरसफाई अभियान शुरु गरेका छन्।
उक्त विद्यालयमा कक्षा १० र ९ का विद्यार्थीहरुले आफ्नो विद्यालयको सरसफाई तथा वातावरण संरक्षणका लागि अभियान शुरू गरेकाछन्। प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवालको प्रमुख आतिथ्यमा विद्यालयका प्रधानाध्यापक पवनकुमार सिंहको अध्यक्षतामा उक्त अभियानको उद्घाटन गरिएको हो।
उक्त अवसरमा बोल्दै गाउँपालिका जयसवालले यो अभियान सराहनीय रहेको बताए। उनले यसमा गाउँपालिको तर्फबाट सहयोग गरिने समेत बताए। उक्त अवसरमा बोल्दै वडा अध्यक्ष याकुब अंसारीले विद्यार्थीहरुले सरसफाई अभियान सञ्चालन गरेकोमा धन्यबाद दिए।
उक्त अवसरमा विद्यालयका शिक्षक, समाजसेवी, राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। उक्त विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रितम गुप्ताले अभियानको बारेमा प्रकाश परेका थिए। सामाजिक परिवर्तन केन्द्र काठमाण्डौँको आयोजनामा वातावरणीय हिंसा नोक्सान वा कार्यशालामा यस विद्यालयका आफु लगायत अन्य चारजना साथीहरू सहभागी भएको उनले बताए।
उक्त कार्यशालामा वातावरणीय चुनौतीहरूको बारेमा जानकारी हासिल गरी त्यसको समाधानको बारेमा बृहत छलफल गरेको उनले जानकारी दिए। अब आफ्नो विद्यालय तथा समाजमा वातावरण संरक्षण गर्न र सरसफाई कायम राख्नको लागि विभिन्न योजनाहरू आफुहरुले बनाएको उनले जनाए। सोही योजना अनुसार यो अभियान सञ्चालन गरिएको उनले बताए।
सामाजिक परिवर्तन केन्द्रले प्रत्येक कक्षामा राख्न मिल्ने सानो डस्टबिन २० थान, ठूलो डस्टबिन दुई थान, झाडू १० थान, ५०० लिटरको पानी ट्याङ्की एक थान, तथा फोहोर उठाउने १० थान सामग्री विद्यार्थीहरूलाई सहयोग गरेको जानकारी सामाजिक परिवर्तन केन्द्रका बारा जिल्ला संयोजक विक्की महतोले जानकारी दिएका छन।

