सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–औराहास्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु वर्षमा १९ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ। संस्थाको १४ औँ वार्षिक साधारण सभामा प्रस्तुत विवरणअनुसार सहकारीको शेयर पुँजी २ करोड ३ लाख ८६ हजार ३०० रुपैयाँ पुगेको छ। यद्यपि, ऋण असुलीमा देखिएको समस्याका कारण सदस्यलाई लाभांश वितरण गर्न नसकिएको संस्थाले जनाएको छ।
सहकारीको सदस्य संख्या १ हजार ६२९ पुगेको छ। यसका अतिरिक्त ८६ वटा लघुवित्त समूह र २३५ जना बाल बचतकर्ता संस्थामा आबद्ध छन्। साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कोपिला सिमखडाले संस्थाको प्रगति र आर्थिक गतिविधिबारे जानकारी गराएकी थिइन्।
देवाश्रममा आयोजित सभामा मधेश प्रदेशका पूर्वप्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले सहकारीको वित्तीय अवस्थाबारे चासो व्यक्त गरे। अन्य सहकारीले सदस्यलाई लाभांश वितरण गरिरहेका बेला घण्टीमाईका शेयर सदस्यले लाभांश नपाउनुको कारण स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। सहकारीलाई आर्थिक रूपमा सबल बनाउन ऋण लिएका सदस्यले निर्धारित समयमा कर्जा फिर्ता गर्नुपर्नेमा उनले जोड दिए।
संस्थाका व्यवस्थापक नवीन खड्काका अनुसार पछिल्लो दुई वर्षदेखि केही ऋणीले कर्जा नवीकरण नगरेका र समयमै साँवा तथा ब्याज भुक्तानी नगर्दा संस्थाको आर्थिक व्यवस्थापनमा दबाब परेको छ। सहकारीले यस वर्ष २५ लाख रुपैयाँ नाफा आर्जन गरे पनि ऋण असुलीमा समस्या रहेकाले सदस्यलाई लाभांश दिन नसकिएको उनले बताए।
कर्जा चुक्ता नगर्ने ऋणीमाथि संस्थाले प्रक्रिया अघि बढाएको र आवश्यकताअनुसार कालोसूचीमा राख्ने तयारी गरेको व्यवस्थापक खड्काले जानकारी दिए। उनका अनुसार ऋण लगानी प्रक्रियालाई सहज बनाउँदै कर्जा व्यवस्थापन सुधार गर्ने प्रयास भइरहेको छ।
साधारण सभाले आर्थिक प्रतिवेदनसँगै संस्थामा योगदान पु¥याउने शेयर सदस्य, कर्मचारी तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मानसमेत गरेको छ। ज्येष्ठ शेयर सदस्यका रूपमा महिला सदस्य लिलादेवी र पुरुष सदस्य बामबहादुर शिलवाल सम्मानित भए।
त्यस्तै, कार्यपालिका सदस्य अर्जुन रसाइली, उत्कृष्ट समूहका रूपमा समूह नम्बर १५, उत्कृष्ट दैनिक बचतकर्ताका रूपमा सुभद्रा घिमिरे, उत्कृष्ट बाल बचतकर्ताका रूपमा अनमोल गिरी र उत्कृष्ट ऋणीका रूपमा पवित्रा कुमारी खनाललाई सम्मान गरिएको थियो।
पत्रकारितामार्फत योगदान पुर्याएको भन्दै पत्रकार एसएस पटेललाई घण्टीमाई पत्रकारिता पुरस्कार–२०८३ प्रदान गरिएको छ। उत्कृष्ट कर्मचारीका रूपमा सुदीप चौधरी र कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गरेकी अनिता रुम्बालाई पनि पुरस्कृत गरिएको संस्थाले जनाएको छ।
अध्यक्ष सिमखडाको अध्यक्षतामा सम्पन्न सभामा ज्येष्ठ शेयर सदस्य बामबहादुर शिलवाल प्रमुख अतिथि थिए। कार्यक्रममा उपाध्यक्ष भुवप्रसाद ढकाल, सचिव त्रिलोक साह ठकुरी, कोषाध्यक्ष प्रेमकुमारी ढकाल, सहसचिव सुकदेव सिमखडालगायत शेयर सदस्य र कर्मचारीको सहभागिता थियो। सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक नवराज न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रम सञ्चालन व्यवस्थापक नवीन खड्काले गरेका थिए।


