पूर्ण अधिकार प्राप्ति गर्न क्रान्ति युद्धको तयारीमा रहेको अध्यक्ष डा.सिके राउतको कथन

साझेदारी दैनिक
309 पाठक संख्या

कलैया : आफुहरु कुनै मिसनको लागि नभई पूर्ण अधिकार प्राप्तिको क्रान्ति युद्धको तयारीमा रहेको जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सिके राउतले बताएका छन्।

बाराको कलैयास्थित कारणराज पार्टी प्यालेसमा सोमबार आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले क्रान्तिका लागि तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

पुर्ण अधिकार प्राप्तीको क्रान्तिमा तयारीका साथ होमिन कार्यकर्तालाई उनले आग्रह गरे। डा. राउतले जनमत पार्टीको मुख्य एजेन्डा नै नागरिकलाई पुर्ण अधिकार सम्पन्न बनाउनु रहेको जनाएका छन्।

संघियता आएपनि प्रदेशलाई अधिकार विहिन बनाइएको उनले बताए। प्रदेश सरकारलाई अधिकार विहीन बनाएर बदनाम गर्ने कार्य सिंहदरवार बाटै भइरहेको उनले आरोप लगाए।

उक्त कार्यक्रममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गर्दै बाराका दुई प्रभावशाली नेतासहित पाँच सयभन्दा बढी व्यक्ति जनमत पार्टीमा प्रवेश गरेका छन्।

संविधानसभा सदस्य प्रमोदप्रसाद गुप्ता र बारा क्षेत्र नम्बर ३ (ख) का पूर्व प्रदेशसभा सदस्य पारसप्रसाद साह जनमत पार्टीमा प्रवेश गरेका हुन्।

गुप्ता २०६४ सालको संविधानसभाका सदस्य रहेका हुन्। केही समयका लागि संघीय खानेपानी मन्त्री प्रदीप यादवका राजनीतिक सल्लाहकारको रूपमा समेत गुप्ताले काम गरेका हुन्। साह २०७४ सालमा मधेस प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य हुन्।

उक्त कार्यक्रममा विभिन्न दलहरू परित्याग गरेका पाँच सयभन्दा बढी जनालाई जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले टीका र गम्छा लगाई उनले पार्टीमा प्रवेश गराएका हुन्।

जनमत पार्टी बारा इन्चार्ज शिवनाथ पटेलको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह,उद्योग वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा, वन तथा वातावरण मन्त्री संजयकुमार यादव,पार्टीका विभिन्न तहका पदाधिकारी, नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds