अवैध काठ ओसारपसार गर्ने अटो सहित ३ जना पक्राउ

रञ्जन यादव
384 पाठक संख्या

सिमरा : बाराको कोल्हवी नगरपालिकामा अवैध रूपमा सालको काठ ओसारपसार गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मधुवन,बाराबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले जानकारी दिएका छन ।

प्राप्त जानकारी अनुसार सोमबार कोल्हवी नपा–०८,मिलनचोकबाट म.प्र.०३–००१ ह २५७९ नम्बरको अटो गाडीमा साल जातको गोलिया काठ ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले चेक जाँच सुरु गरेको थियो । प्रहरीले उक्त गाडीलाई नेपाल आयल स्टोर पूर्वबाट उक्त अवैध साल जातको काठ सहित बरामद गरेको हो ।

पक्राउ पर्नेहरूमा बारा करैयामाई गाउँपालिका–२ निवासी बर्ष ५१ का गोबिन्द प्रसाद चौधरी,करैयामाई गाउँपालिका–४ निवासी बर्ष ४० का ग्यासुदीन अन्सारी र बर्ष ३१ का नैईम अक्तर देवान रहेको मधुबन सब डिभिजन बन कार्यालयका अधिकृत संजय चौधरीले जानकारी दिए ।

अटो गाडीमा ६ थान गोलिया साल काठ ७.३६ क्युफिटको लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको अधिकृत चौधरीले बताए । पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन बन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखि अनुसन्धान प्रक्रिया अगाडि बढाईएको डिभिजनल बन अधिकृत झाले बताएका छन।

Leave a review