जीतपुरसिमरा नगर उवासंघको स्थापना दिवस २० गते मनाउने

रञ्जन यादव
231 पाठक संख्या

जीतपुर । बारा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको बैठक शुक्रबार जीतपुरमा सम्पन्न भएको छ।

संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा बसेको बैठकले स्थापना दिवस मनाउने, अधिवेशन तथा साधारण सभाको मिति र निर्वाचन कार्यतालिका तय गर्ने, कार्यसमितिको म्याद थप, विधान संशोधन तथा भौगोलिक आधारमा आरक्षण सिट निर्धारण लगायतका महत्वपूर्ण विषयमा छलफल गरी विभिन्न निर्णयहरू गरेको छ।

बैठकले संघको स्थापना दिवस श्रावण २० गते मनाउने निर्णय गरेको छ। उक्त अवसरमा संघको परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरिने र नव–निर्मित सभाहलको समुद्घाटन समेत गरिने जानकारी दिइएको छ।

संघका अध्यक्ष मोहन शर्मा लामिछानेले विधानअनुसार कार्यसमितिको निर्वाचन भाद्र २८ गते गर्न प्रस्ताव गरे पनि समय अपुग हुनुका साथै नजिकिँदै गरेका दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वहरूलाई मध्यनजर गर्दै निर्वाचन मिति अर्को बैठकमार्फत टुंगो लगाउने निर्णय भएको बताइएको छ।

बैठकले लेखापरिक्षण, विधान संशोधन तथा संस्थाको नविकरण गर्ने निर्णय समेत गरेको छ। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको संशोधित विधान अनुसार संघको कार्यसमिति पदावधि ३ वर्षबाट घटाएर २ वर्ष कायम गर्ने निर्णय भएको छ।

महासंघको नयाँ व्यवस्थाअनुसार दुई जना महिला उपाध्यक्ष रहने प्रावधान अनुसार संघको विधानमा संशोधन गरी एक जना महिला उपाध्यक्षको निर्वाचन गरिने निर्णय पनि गरिएको छ।

संघको इतिहास र वर्तमान संरचनालाई ध्यानमा राख्दै भौगोलिक प्रतिनिधित्व सुनिश्चित गर्न साबिक भवानीपुर जीतपुर गा.वि.स.बाट ३ जना, पिप्रा सिमरा गा.वि.स.बाट ३ जना, डुमरबाना र मनहर्वा गा.वि.स.बाट १ जना, अम्लेखगंज गा.वि.स.बाट १ जना तथा छातापिपरा र ईनर्वा गा.वि.स.बाट एक÷एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

Leave a review