वीरगञ्ज : नेपाली सेनाको टोलिले पर्साको वीरगञ्जमा आज फेला परेको सुटकेशलाई डिस्पोज गरेर नष्ट गरेको छ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२, छपकैया स्थित बिरयानी हाउस अगाडि बेवारिसे अवस्थामा सुटकेश फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी बिट छपकैयाबाट प्रहरी हवल्दार रञ्जनराज पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुग्दा खैरो रङको सुटकेश बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
उक्त सुटकेश शंकास्पद देखिएपछि घटनास्थललाई सुरक्षा घेरामा राखी तालुक कार्यालय वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक बिक्रम सुवेदीको कमाण्डमा थप टोली गएको थियो। श्री जनगण वीरगञ्जबाट नेपाली सेनाको सात जना बम डिस्पोजल टोलीले उक्त सुटकेश सुरक्षित रूपमा डिस्पोज गरेको छ।
बम डिस्पोजल टोलीद्वारा सुटकेशको परीक्षण गर्दा कुनै प्रकारको विस्फोटक पदार्थ नपाइएकाले तत्काल कुनै जोखिम नभएको पुष्टि भएको जनाइको छ। यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

