लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत जीतपुरसिमरामा सचेतना कार्यक्रम सम्पन्न

रञ्जन यादव
263 पाठक संख्या

जीतपुर : लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९छातापिपरामा शुक्रबार एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

“प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुख्य नारा सहित जीतपुरसिमरा उपमहानगरपालिकाद्धारा आयोजित कार्यक्रममा स्थानीय महिला तथा युवाहरुको सक्रिय सहभागिता रहेको उपमहानगरपलिकाको महिला अधिकृत सिमा यादवले जानकारी दिईन् ।

कार्यक्रमका वक्ताहरूले प्रविधिको दुरुपयोगमार्फत हुने अनलाइन हिंसा, साइबर बुलिङ, डिजिटल उत्पीडन लगायतका समस्याबारे जानकारी गराउँदै सुरक्षित इन्टरनेट प्रयोगका उपायहरूबारे समेत अभिमुखीकरण गराइएको थियो । साथै, लैङ्गिक हिंसाका विभिन्न रूप, यसको मनोवैज्ञानिक तथा सामाजिक प्रभाव, पीडितले लिन सक्ने कानुनी सहायता तथा स्थानीय तहमा उपलब्ध सेवा–सुविधाहरूको विषयमा नगरप्रमुख राजन पौडेलले जानकारी दिए ।देशभर मंसिर ९ गतेदेखि २४ गतेसम्म मनाइँदै आएको १६ दिने अभियानलाई प्रभावकारी बनाउन उपमहानगरपालिकाको विभिन्न वडाहरूमा निरन्तर रूपमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सहभागीहरूले यस्ता कार्यक्रमले लैङ्गिक हिंसा रोकथाममा सहयोग पुग्ने र समुदायमा सचेतना फैलिन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई,वडा नं.१४ का वडा अध्यक्ष चयन गुरुङ्ग, वडा नं.९ का वडा अध्यक्ष मोतिलाल राउत लगायतको सहभागिता रहेको थियो । तालिम सुरु हुनु भन्दा अगाडि भएको औपचारिक कार्यक्रमको सञ्चालन नितु साहले गरेकि थिईन् ।

Leave a review

This will close in 0 seconds