कलैया : बाराको कलैयामा “सञ्चार माध्यमको अवस्था र चुनौती” विषयक एकदिवसीय गोष्ठी बुधबार सम्पन्न भएको छ। मिडिया काउन्सिल मधेस प्रदेशको आयोजनामा भएको उक्त गोष्ठीको मधेस प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीतेन्द्र सोनलले उद्घाटन गर्नुभएको हो ।
मिडिया काउन्सिल मधेसको कार्यवाहक अध्यक्ष सुरेश यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बारा र पर्सामा संचारमाध्यमको अवस्था र चुनौतीका विषयमा पत्रकार महासंघ शाखाका प्रतिनिधिहरु कार्यपत्र प्रस्तुत गरेका थिए ।
पर्साकातर्फबाट पर्सा महासंघका अध्यक्ष ओमप्रकाश खनाल र बारा महासंघका तर्फबाट सचिव पुष्पराज खतिवडाले कार्यपत्र प्रस्तुत गरेका हुन । उक्त कार्यपत्र उपर उपस्थित नेपाल पत्रकार महासंघ का केन्द्रीय सचिव अशोक तिवारी, महासंघका केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछानेले सल्लाह सुझाव लगायतका विषयमा जानकारी गराउनुभयो ।
उक्त गोष्ठीमा पर्सा र बाराका पत्रपत्रिका, रेडियो र अनलाई संचारमाध्यमका ४७ जना संचालका तथा सम्पादकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समुहगत छलफल गरी सञ्चार क्षेत्रको प्रर्वद्धन,सम्बर्दन तथा सुधारका लागि आवश्यक सुझावहरु समेत संकलन गरिएको थियो ।

