बारा । बाराको जीतपुरमा हजारौँ भक्तजनको सहभागितामा गणेश चतुर्थी महोत्सव सुरु भएको छ। विशाल लड्डु, हात्ती–घोडासहितको शोभायात्रा र धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई मुख्य आकर्षण बनाउँदै श्री सिद्धि विनायक पूजा समितिले सप्ताहव्यापी गणेश चतुर्थी पूजा तथा महोत्सव आयोजना गरेको हो।
महोत्सवको सुरुवातसँगै हात्ती, पाँचवटा घोडा, बाजागाजासहित निकालिएको भव्य शोभायात्राले जीतपुर बजारको परिक्रमा गरेको थियो। शोभायात्रामा सहभागी हजारौँ भक्तजनका कारण जीतपुर क्षेत्र दिनभर धार्मिक उत्सवमय बनेको थियो।
महोत्सवअन्तर्गत गणेश भगवानको प्रतिमाको मुखार्पण जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष सुनिल गुप्ताले गरेका थिए। आयोजक समितिका अध्यक्ष श्रीराम साह कानुका अनुसार गणेश चतुर्थीको मुख्य पूजा तथा धार्मिक कार्यक्रम चार दिनसम्म सञ्चालन हुनेछ।
यस वर्ष महोत्सवमा २ सय ८० किलो तौलको विशाल लड्डु विशेष आकर्षण बनेको छ। गत वर्ष २ सय ७० किलोको लड्डु तयार गरिएकोमा यसपटक त्यसमा १० किलो थप गरी २ सय ८० किलोको लड्डु बनाइएको आयोजकले जनाएको छ।
पूजा तथा आरतीपछि महोत्सव अवधिभर दैनिक ५० किलो लड्डु भक्तजन तथा दर्शनार्थीलाई प्रसादका रूपमा वितरण गरिने अध्यक्ष कानुले बताए। यससँगै हरेक दिन भजन–कीर्तन तथा धार्मिक गतिविधि सञ्चालन गरिनेछ।
समितिका उपाध्यक्ष जय सागरका अनुसार साँझ तथा रातिको समयमा विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिनेछ। महोत्सवका कारण जीतपुरमा धार्मिक पर्यटन तथा स्थानीय व्यापारिक गतिविधिसमेत बढ्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ। श्री सिद्धि विनायक पूजा समितिका अनुसार जीतपुरमा विगत १९ वर्षदेखि गणेश चतुर्थीका अवसरमा नियमित रूपमा गणेश भगवानको पूजा तथा महोत्सव आयोजना हुँदै आएको छ।


