राधाकृष्ण मध्यवर्ती वनको १८ औँ साधारण सभा सम्पन्न

रञ्जन यादव
185 पाठक संख्या

जीतपुर : राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले संरक्षण, पर्यटन विकास र स्थानीय रोजगारी सिर्जनालाई मुख्य लक्ष्य बनाउँदै आफ्नो १८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभा जीतपुरसिमरा उपमहानगरपालिका–२, नरबस्तीमा सम्पन्न भएको थियो।

नगरप्रमुख राजन पौडेलले संरक्षणमा प्रगति भए पनि पर्यटनको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसकेको बताए। उनले सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्जबीच प्रभावकारी समन्वय गरी कम लगानीमा पर्यटनमुखी कार्यक्रम अघि बढाउन आग्रह गरे।

सभामा प्रस्तुत प्रतिवेदनअनुसार, मुसहर्नीमाइदेखि भिमेश्वर सामुदायिक वनसम्म मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेश तारबार जडान कार्य सुरु भइसकेको छ। बाँकी क्षेत्रलाई समेट्दै दीर्घकालीन समाधान खोज्ने योजना पनि समूहले अघि सारेको छ।

वन उपभोक्ता समूहले इको पार्क निर्माण, जिप सफारी सञ्चालन, पानी पोखरी निर्माण र वृक्षारोपणमार्फत वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना बनाएको छ। इको पार्क निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ र अब कार्यान्वयन चरणमा प्रवेश गर्न लागेको जानकारी सभामा दिइयो।

पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले सामुदायिक वनहरूले संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै कार्यक्रमहरू विधि र कानुनअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए। निकुञ्जअन्तर्गत ४९ वटा सामुदायिक वन क्रियाशील रहेका छन्।

जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठले बजेट अभावले कार्यक्रमलाई चुनौती पु-याएको बताए। भिमेश्वर सामुदायिक वन उपभोक्ता समूह पथलैयाका अध्यक्ष सुमन थापा मगरले तारबार जडानले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सभामा विभिन्न सामुदायिक वनका प्रतिनिधि, सरोकारवाला निकाय र स्थानीय उपभोक्ताको सहभागिता रहेको थियो। सचिव रिता कंडेलले इको पार्क निर्माणसम्बन्धी डीपीआर औपचारिक रूपमा हस्तान्तरण गर्दै कार्यक्रमको समापन गरे।

Leave a review