प्रेस युनियनद्धारा स्थानीय मिडिया बचाउन सरकारसंग नीतिगत स्पष्टता ल्याउन माग

साझेदारी डेलि
190 पाठक संख्या

कलैया । सरकारी विज्ञापन बन्द गर्ने निर्णयले निजी सञ्चारमाध्यमहरू संकटतर्फ धकेलिएको भन्दै बारामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बाराका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन्।

नेपाल प्रेस युनियन बारा शाखाको आयोजनामा भएको कार्यक्रममा सहभागी प्रेस युनियनकर्मी पत्रकारहरूले विज्ञापन नै आम्दानीको मुख्य स्रोत रहेको अवस्थामा सरकारी समर्थन हट्नुले स्थानीय मिडियाको अस्तित्व नै जोखिममा परेको बताए।

कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष एवम् बाराका वरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठले स्थानीय मिडियाको संरक्षण र प्रवद्र्धनका लागि राज्यले वर्गीकरणका आधारमा नियमित विज्ञापन उपलब्ध गराउनुपर्ने धारणा राखे।

कार्यक्रमा वक्ताका रूपमा बोलेका प्रेस युनियनका केन्द्रीय सदस्य गणेशराज रिजालले यस्तो अवस्था निरन्तर रहे केही महिनामै अधिकांश निजी मिडिया बन्द हुनसक्ने खतरा बढेको छ।

पत्रकार निवेशकुमार तिमिल्सिनाले विज्ञापन रोक्नु प्रेसमाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयास भएको टिप्पणी गरे। यस्तै जयनारायण यादवले भने सरकारी विज्ञापन बन्द हुँदा सञ्चार संस्थामा कार्यरत पत्रकारहरूको रोजगारी नै संकटमा पर्ने उल्लेख गर्दै विज्ञापन वितरणका लागि स्पष्ट र एकीकृत नीति आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी अन्य संचारकर्मीहरुले एफएम सञ्चालकहरूले विज्ञापन अभावले रेडियो सञ्चालन नै कठिन बनेको गुनासो गर्दै यसले विशेषगरी ग्रामीण क्षेत्रमा सूचना पहुँचमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।

युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ मधेश प्रदेश सदस्य संजीव मिश्र, पत्रकार उपेन्द्र यादव, अदिवासी पत्रकार महासंघका धिरेन्द्र पनुह, पत्रकार शिवशंकर मिश्रा,अनिल कुमार साह, नुरआलम बादशाह,रमेश ठाकुर लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन युनियन बाराका सचिव राजेश कुशवाहाले गरेका थिए।

Leave a review

This will close in 0 seconds