व्यवसाय सञ्चालनमा पारदर्शिता र नियम पालना गर्न जीतपुरसिमरा उद्योग वाणिज्य संघको आग्रह

रञ्जन यादव
65 पाठक संख्या

बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यवसाय सञ्चालनलाई व्यवस्थित, पारदर्शी र उपभोक्ता मैत्री बनाउन व्यवसायीहरूलाई विभिन्न अनिवार्य निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।

संघका महासचिव प्रकाश गिरी द्वारा हस्ताक्षरित उक्त सूचनामा सबै व्यवसायीले आफ्ना पसल तथा उद्योग सञ्चालन गर्दा वस्तुमा अधिकतम खुद्रा मूल्य(एमआरपी)स्पष्ट रूपमा अंकित गर्नुपर्ने र एमआरपी भन्दा बढी मूल्य लिन नपाइने उल्लेख गरिएको छ।

साथै, ग्राहकबाट लिइएको रकमको अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।त्यसैगरी, पसलको नाम तथा साइनबोर्ड स्पष्ट देखिने स्थानमा राख्नुपर्ने, प्यान वा भ्याट नम्बर प्रदर्शन गर्नुपर्ने र प्रत्येक खरिदमा आपूर्तिकर्ताबाट खरिद बिल अनिवार्य रूपमा लिनुपर्ने निर्देश दिइएको छ।

व्यवसायसँग सम्बन्धित सम्पूर्ण अभिलेख (रेकर्ड) नियमित रूपमा राख्न र कारोबारलाई प्रचलित कानून बमोजिम पारदर्शी ढंगले सञ्चालन गर्न पनि संघले जोड दिएको छ।

सूचनामा उल्लिखित निर्देशनहरूको उल्लंघन गरेमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ। संघले सम्पूर्ण व्यवसायीहरूलाई उक्त निर्देशनहरू गम्भीरतापूर्वक पालना गर्न अनुरोध गरेको छ।

Leave a review