मृतक सदस्य परिवारलाई ३ लाख बीमा रकम हस्तान्तरण

रञ्जन यादव
63 पाठक संख्या

सिमरा । साना किसान कृषि सहकारी संस्था सिमराले आफ्ना एक शेयर सदस्यको निधनपछि उहाँको परिवारलाई बीमा बापत ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित अन्तरसमूह नं. ५ अन्तर्गत समूह नं. १३५ की सदस्य गोमा माया राईको निधन भएपछि उहाँको परिवारलाई म्यादि जीवन बीमा अन्तर्गत उक्त रकम प्रदान गरिएको संस्थाकी अध्यक्ष कमला अधिकारीले जानकारी दिइन्।

एक कार्यक्रमका बीच वडा नं. २१ का अध्यक्ष सुबास श्रेष्ठले मृतक सदस्यका परिवारजनलाई बीमा रकम हस्तान्तरण गर्नुभयो। सो अवसरमा बोल्दै वडा अध्यक्ष श्रेष्ठले सहकारीमार्फत सञ्चालन हुने यस्ता बीमा कार्यक्रमले सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। दुःखको समयमा परिवारलाई राहत पु¥याउन यस्तो सहयोग प्रभावकारी हुने उहाँको भनाइ थियो।

कार्यक्रममा सहकारीका पदाधिकारीहरूले दिवंगत गोमा माया राईलाई सक्रिय र जिम्मेवार सदस्यका रूपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, सदस्यहरूको हित र सुरक्षाका लागि संस्थाले विभिन्न सामाजिक सुरक्षा तथा बीमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराइएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष, सहजकर्ता कुलोत्तम पोख्रेल, व्यवस्थापक, कर्मचारी, अन्तरसमूहका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा मृतकका परिवारजनको उपस्थिति रहेको थियो। उपस्थित सबैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

Leave a review

This will close in 0 seconds