बारा । सबैया सब–डिभिजन वन कार्यालयले अतिक्रमण गरी बसोबास तथा खेतीपाती गरिएको वन क्षेत्र तत्काल खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ। मधेश प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय पर्साको मातहतमा रहेको सबैया सब–डिभिजन वन कार्यालयले बैशाख २५ गते एक सुचना गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ र ३२ स्थित सोलखपुर र रामवन गाउँ क्षेत्रको राष्ट्रिय वन अतिक्रमण बढ्दै गएको भन्दै तीन दिनभित्र खाली गर्न निर्देशन दिएको हो।
कार्यालयद्वारा जारी सूचनाअनुसार उक्त क्षेत्रमा अनधिकृत रूपमा वन अतिक्रमण गरी आवादी गर्ने, खेतीपाती गर्ने, घर, छाप्रो, टहरा तथा अन्य संरचना निर्माण गर्ने कार्य भइरहेको पाइएको जनाएको छ। वन कार्यालयले राष्ट्रिय वनको कुनै पनि जग्गा जोत्न, खन्न, वन फँडानी गर्न वा संरचना निर्माण गर्न नपाइने स्पष्ट पारेको छ। सूचनामा वन ऐन २०७६ को दफा ४९(ग) अनुसार वन क्षेत्रमा अतिक्रमण गर्नु कानुन विपरीत कार्य भएको उल्लेख गरिएको छ।
साथै अतिक्रमण गरी बनाइएका घर, टहरा, छाप्रो तथा खेती गरिएको क्षेत्र तीन दिनभित्र खाली गर्न निर्देशन दिइएको छ। वन कार्यालयले तोकिएको समयभित्र अटेर गरे वन ऐन २०७६ को दफा ५०(३) अनुसार पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। सूचना सबैया सब डिभिजन बन कार्यालयका सहायक पाचौँ भुपाल रोकायद्धारा जारी सुचनामा उल्लेख छ ।

