प्रतिवेदन पेश गर्न सामुदायिक संस्थालाई उपमहानगरको आग्रह

रञ्जन यादव
106 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले गरिबी निवारण कोषअन्तर्गत सञ्चालित तथा स्थानीय तहमा दर्ता भएका सामुदायिक संस्थाहरूलाई चौमासिक र वार्षिक प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न आग्रह गरेको छ।

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा गरिबी निवारण कोषद्वारा प्रवद्र्धित सामुदायिक संस्था तथा साना पूर्वाधार विकास आयोजनासम्बन्धी सामान्य मार्गदर्शन, २०७५ अनुसार स्थानीय तहभित्र गठन भएका सामुदायिक संस्थाहरूको घुम्ती कोष सञ्चालन तथा व्यवस्थापनको व्यवस्था रहेको उल्लेख गरिएको छ।

सूचनाअनुसार मार्गदर्शनको बुँदा नं. २.९ (९) बमोजिम सामुदायिक संस्थाहरूले आफ्नो चौमासिक तथा वार्षिक प्रतिवेदन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था रहेको जनाइएको छ।

यसैअनुसार गरिबी निवारण कोषमार्फत सञ्चालित तथा स्थानीय तहमा दर्ता भएका सबै सामुदायिक संस्थाहरूलाई आवश्यक प्रतिवेदन यथाशीघ्र तयार गरी सम्बन्धित निकायमा बुझाउन उपमहानगरपालिकाले अनुरोध गरेको हो।

उपमहानगरपालिकाका अनुसार पेश गर्नुपर्ने विवरणमा आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन, चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम तथा दोस्रो चौमासिक प्रतिवेदन तथा संस्थाको अद्यावधिक विवरण समावेश गर्नुपर्नेछ। त्यस्तै, सम्बन्धित प्रतिवेदनको हार्ड कपी सामाजिक विकास शाखामा तथा सफ्ट कपी इमेलमार्फत उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

Leave a review

This will close in 0 seconds