सिमा विवादका कारण कलैया र महागढीमाईका नगर प्रहरी आमनेसामने, ६ घाइते

साझेदारी डेलि
126 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-२६ मा सिमा विवाद चर्किँदा कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिका का नगर प्रहरीबीच मंगलबार साँझ झडप भएको छ। घटनामा दुवै पक्षका गरी ६ जना नगर प्रहरी घाइते भएका छन्।

सिस्वा–महेशपुरस्थित छठिया पोखरी नजिक संघीय सरकारको खानेपानी आयोजनाको कम्पाउन्ड विस्तार गर्ने क्रममा विवाद सुरु भएको हो । महागढीमाई नगरपालिकाका नगर प्रहरीहरूले निर्माणाधीन संरचनाको बिम र रड तोडफोड गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि “यो हाम्रो सिमाभित्र पर्छ” भन्ने विषयमा दुबै पक्षबीच भनाभन हुँदै झडपमा परिणत भएको स्थानीयले बताएका छन्।

कलैया उपमहानगरपालिकाको विपद् तथा वातावरण शाखाका प्रमुख भुलन साहका अनुसार झडपमा लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका छन्। उनीहरूको बयोधा अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी महागढीमाई नगरपालिका तर्फका नगर प्रहरी धर्मराज यादव घाइते भएको नगर प्रहरी इन्चार्ज अनिल लहेराले जानकारी दिए। घाइते यादवको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको उनले बताए। कलैया-महागढीमाईबीच पर्ने छठिया पोखरी क्षेत्रको सिमा विषय विवादित रहँदै आएको छ।

Leave a review

This will close in 0 seconds