तीन दशकपछि पूरा हुँदै जीतपुर–बकुलियावासीको खानेपानी सपना

रञ्जन यादव
76 पाठक संख्या

जीतपुर । जीतपुर–बकुलिया क्षेत्रका बासिन्दाले लामो समयदेखि प्रतीक्षामा रहेको शुद्ध खानेपानी सेवा अब छिट्टै घरघरमै पाउने भएका छन्। वर्षौंअघि निर्माण सम्पन्न भए पनि विभिन्न कारणले सञ्चालनमा आउन नसकेको बकुलिया खानेपानी आयोजना अन्ततः उपभोक्तासम्म पानी पुर्‍याउने अन्तिम तयारीमा पुगेको हो।

भवानीपुर–जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले घरधुरीमा धारा जडानका लागि आवेदन संकलन प्रक्रिया सुरु गर्न लागेको जनाएको छ। संस्थाका अध्यक्ष हरेराम कामीले जारी गरेको सूचनाअनुसार सेवा लिन इच्छुक उपभोक्तालाई आवश्यक कागजातसहित संस्थाको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्थानीय स्तरमा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब तीन दशकअघि निर्माण गरिएको बकुलिया खानेपानी ट्याङ्की विभिन्न प्राविधिक तथा प्रशासनिक जटिलताका कारण पूर्ण सञ्चालनमा आउन सकेको थिएन। पटक–पटक प्रयास भए पनि योजना कार्यान्वयन हुन नसक्दा स्थानीयवासीले अपेक्षित सुविधा पाउन सकेका थिएनन्।

हाल भने वितरण सञ्जाल विस्तारको अधिकांश काम सम्पन्न भइसकेको र आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको जनाइएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाका अनुसार नगर प्रमुख राजन पौडेलले आयोजनाको नियमित अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न सम्बन्धित निकायलाई सक्रिय बनाउँदै आएका छन्।

खानेपानी वितरणका क्रममा पाइपलाइन विस्तार गर्नुपर्ने क्षेत्रहरूमा सडक, पुल तथा अन्य संरचनासम्बन्धी प्राविधिक समस्याले केही समय काम प्रभावित भएको थियो। अनुमति प्रक्रिया, सडक कटान तथा संरचना व्यवस्थापनका विषयले पनि ढिलाइ गराएको बताइन्छ। यद्यपि पछिल्लो समय वितरण प्रणाली विस्तारको कामलाई तीव्रता दिइएको छ।

संस्थाका पदाधिकारीका अनुसार मुख्य पाइपलाइन जडानको कार्य लगभग सम्पन्न भइसकेको छ भने अब घरधुरीमा धारा जडानको काम अघि बढाइनेछ। प्रारम्भिक चरणमा जीतपुर र बकुलिया क्षेत्रका सयौं परिवारलाई खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

यसबीच उपमहानगरपालिकाका पूर्वाधार शाखा प्रमुख इन्जिनियर अभयकान्त झाले खानेपानी संस्थाको कार्यालय व्यवस्थापनलाई समेत सुधार गर्ने काम भइरहेको जानकारी दिए। कार्यालयको उचित व्यवस्थापन नहुँदा धारा जडानका लागि आउने सेवाग्राहीले कार्यालय बन्द रहेको ठानेर फर्किनुपर्ने अवस्था देखिएकाले त्यसको समाधानका लागि आवश्यक व्यवस्थापन भइरहेको उनले बताए।

लामो समयदेखि प्रतिक्षामा रहेको आयोजना सञ्चालनको तयारी अन्तिम चरणमा पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। नियमित र स्वच्छ खानेपानी उपलब्ध भएसँगै दैनिक जीवन सहज हुने तथा पानीजन्य रोगको जोखिम घट्ने अपेक्षा गरिएको छ। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि जीतपुर–बकुलिया क्षेत्रको सुरक्षित खानेपानीको दशकौं पुरानो आवश्यकता पूरा हुने विश्वास गरिएको छ।

Leave a review

This will close in 0 seconds