जीतपुरसिमरा–२२ मा सुविधा सम्पन्न वडा कार्यालय भवन सञ्चालन

रञ्जन यादव
55 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ को नयाँ प्रशासकीय भवन औपचारिक रूपमा उद्घाटन गरिएको छ। आधुनिक सुविधासहित निर्माण गरिएको उक्त भवनको नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा रिबन काटेर तथा शिलालेख अनावरण गरी उद्घाटन गर्नुभएको हो।

उपमहानगरपालिकाका अनुसार करिब ४० लाख रुपैयाँको लागतमा पाँच कोठा रहेको भवन निर्माण गरिएको हो। नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट प्रदान गरिने प्रशासनिक सेवा अझ व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा नगरप्रमुख पौडेलले स्थानीय सरकारको सफलता नागरिकले पाउने सेवाको गुणस्तरबाट मापन हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो। उहाँले नयाँ भवनले कर्मचारीलाई कार्यसम्पादनमा सहजता प्रदान गर्नुका साथै सेवाग्राहीलाई पनि अनुकूल वातावरणमा सेवा प्राप्त गर्ने अवसर दिने विश्वास व्यक्त गर्नुभयो।

उपप्रमुख अधिकारीले स्थानीय तहका सेवा प्रवाहलाई पारदर्शी, प्रविधिमैत्री र नागरिकको आवश्यकताअनुसार प्रभावकारी बनाउने प्रयास निरन्तर जारी रहेको बताउनुभयो। उहाँले वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुनु स्थानीय सरकारको महत्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभयो।

कार्यक्रममा वडा नं. २२ का अध्यक्ष शेखरकाजी रुम्बा, जनप्रतिनिधि, उपमहानगरपालिकाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय बासिन्दाले नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयका सेवा अझ छरितो, व्यवस्थित र सहज रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरेका छन्।

Leave a review

This will close in 0 seconds