गुठीको मालपोत कर जीतपुरसिमराले आफै संकलन गर्न संस्थानलाई पत्राचार

रञ्जन यादव
297 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले गुठी संस्थानको त्रिपुरेश्वरस्थित प्रधान कार्यालयलाई पत्र लेख्दै नगर क्षेत्र भित्रको गुठी अन्तर्गतका निजी जग्गाको मालपोत कर आफैले संकलन गर्ने जनाएको छ ।

नगरपालिकाले यस सम्बन्धमा संविधान र स्थानीय शासन ऐनका प्रावधानलाई आधार मानेर यो कदम चालेको जनाएको छ । कार्यालयले मंगलवार संस्थानलाई पत्र पठाउँदै पालिका भित्रका जग्गाहरूको मालपोत कर आर्थिक वर्ष २०८१/०८२ देखि नगर कार्यपालिकाको कार्यालयबाट हुने भनेको हो ।

उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले मंसिर १८ गते पत्र लेख्दै यसअघि गुठी संस्थानको वीरगन्जस्थित कार्यालयबाट संकलन हुँदै मालपोत कर आर्थिक वर्ष २०८१।८२ देखि उपमहानगरपालिकाको कार्यालयले संकलन गर्ने जनाएको ह ।

उपमहानगरपालिकाको दशौँ नगर सभाको तेस्रो बैठकको निर्णय नं. १३ तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन, २०५१ को दफा ३ मा भएको व्यवस्था अनुसार निजी जग्गाको हकमा हाल सम्म गुठी संस्थानमा कर बुझाउँदै आएकोमा आ.व. २०८१/८२ देखि उपमहानगरपालिकाबाट संकलन गर्ने निर्णय भएको भन्दै संस्थानबाट यस उ.म.न.पा. क्षेत्र भित्र पर्ने जग्गाहरूको चालु आ.व. २०८१/८२ मा संकलित मालपोत कर यस कार्यालयको नेपाल बैंक लि. जीतपुर शाखाको आन्तरिक राजश्व खाता नं. १०००३०००००१००१०००००१ मा दाखिला गर्नुहुन अनुरोध भन्दै गुठी संस्थानमा पत्राचार गरेको थियो ।

साथै हालसम्म यस पालिका क्षेत्रभित्र जग्गा भएका करदाताहरूको मालपोत कर बुझाएको विवरण सहितको ढड्डाको अभिलेखको प्रमाणित प्रतिलिपि समेत उपलब्ध गराउनसमेत भनेको थियो ।

पालिकाको निर्णय नं. १३ मा व्यक्तिगत नाममा भएको जग्गाधनीको मालपोत कर गुठी संस्थानले संकलन गर्दै आएकोमा आ.व. २०८१/०८२ देखी उपमहानगरपालिका÷सम्बन्धित वडा कार्यालयबाट नै संकलन गर्ने निर्णय गरेको थियो ।

Leave a review

This will close in 0 seconds