नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले लिए जिम्मेवारी,सदस्य व्यवसायीका लागि दुर्घटना बीमा योजनाको घोषणा

साझेदारी डेलि
57 पाठक संख्या

जीतपुर । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा निर्वाचित नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ। संघको तेस्रो अधिवेशनबाट चयन भएको कार्यसमितिले बिहीबार आयोजित विशेष समारोहबीच सपथ ग्रहण गर्दै आगामी कार्यकालको यात्रा सुरु गरेको हो।

जीतपुरस्थित संघको सभाहलमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेले नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्तालाई पद हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउनुका साथै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।

समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ तथा मधेश प्रदेश उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक टेमानी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल र वरिष्ठ उद्योगपति गणेश लाठको समेत विशेष उपस्थिति रहेको थियो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष शिवजीप्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, महासचिव प्रकाश गिरी, कोषाध्यक्ष रिना रौनियार पुरी तथा वाणिज्य सचिव रिता कँडेल चयन भएका छन्। अन्य निर्वाचित सदस्यहरूले पनि सपथ ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हालेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लामिछानेले आफ्नो कार्यकालमा विभिन्न चुनौतीबीच संस्थालाई अगाडि बढाउन सबै पक्षको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। औद्योगिक करिडोर क्षेत्रमा रहेका उद्योगी तथा व्यवसायीका साझा मुद्दा उठाउँदै संघले निरन्तर भूमिका खेलेको उल्लेख गर्दै उहाँले नयाँ नेतृत्वले संस्थालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

यसैबीच, पदभार ग्रहणलगत्तै अध्यक्ष गजेन्द्रकुमार गुप्ताले व्यवसायी हितसँग जोडिएको महत्वपूर्ण निर्णय सार्वजनिक गर्नुभयो। संघको तेस्रो अधिवेशनका लागि सदस्यता नवीकरण गरेका ९५७ जना व्यवसायीलाई प्रतिव्यक्ति एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइने घोषणा उहाँले गर्नुभयो। सम्बन्धित बीमा कम्पनीसँग आवश्यक प्रक्रिया पूरा भइसकेको र योजना असार १४ गतेदेखि कार्यान्वयनमा आउने जानकारी उहाँले दिनुभयो।

अध्यक्ष गुप्ताले वर्तमान आर्थिक परिस्थितिले निजी क्षेत्रलाई दबाबमा पारेको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाको कर्जा समस्या, बजारको सुस्तता, लगानीमा देखिएको अनिश्चितता तथा व्यवसायीमाथि बढ्दो मनोवैज्ञानिक दबाबका विषयलाई प्राथमिकताका साथ उठाइने बताउनुभयो। उद्योग तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण, लगानी आकर्षण र औद्योगिक करिडोरको साख अभिवृद्धि आफ्नो कार्यकालको मुख्य लक्ष्य रहने उहाँको भनाइ थियो।

प्रमुख अतिथि टेमानीले नयाँ नेतृत्वले कार्यभार सम्हालेकै दिन दुर्घटना बीमा कार्यक्रम घोषणा गर्नु व्यवसायीमैत्री र प्रशंसनीय निर्णय भएको प्रतिक्रिया दिनुभयो। उहाँले विशेष आर्थिक क्षेत्रलाई औद्योगिक विकासको महत्वपूर्ण केन्द्रका रूपमा उल्लेख गर्दै निजी क्षेत्रलाई उत्पादनमूलक लगानीतर्फ आकर्षित हुन आग्रह गर्नुभयो।

कार्यक्रमको अवसरमा अध्यक्ष गुप्ताले निर्वाचन सम्पन्न गराउन योगदान पुर्‍याएको भन्दै निर्वाचन समितिलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा उद्योगी, व्यवसायी, संघका पूर्व पदाधिकारी तथा विभिन्न सामाजिक तथा व्यावसायिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गत असार ७ गते सम्पन्न संघको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित गुप्ताको नेतृत्वमा गठित टोलीले अधिकांश पदमा सफलता हासिल गरेको थियो। नयाँ कार्यसमितिले उद्योग, व्यापार तथा लगानी प्रवद्र्धनसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राख्दै व्यवसायीको हकहित संरक्षणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a review

This will close in 0 seconds