फिल्मी शैलीमा जीतपुर बजारमा चोरी, पसलभित्र खाना खाएर सीसीटीभीसमेत लगे चोर

रञ्जन यादव
56 पाठक संख्या

जीतपुर । बाराको जीतपुर बजारमा शनिबार मध्यराति भएको चोरीको घटनाले स्थानीय बजार क्षेत्रलाई तरंगित बनाएको छ। चोरी गर्ने समूहले सामान र नगद मात्र लिएर नभागी पसलभित्रै बसेर चटपटे तयार गरी खानु, अर्को पसलमा पुगेर बिर्यानीको स्वाद लिनु र अन्त्यमा सीसीटीभी क्यामरासमेत उखेलेर लैजानुले घटनालाई असामान्य बनाएको छ।

जीतपुरसिमरा उपमहानगरपालिका–७ अन्तर्गत रहेको विशाल मार्केट र सिटी मार्केटका विभिन्न पसलमा एकै राति चोरी भएको हो। प्रारम्भिक विवरणअनुसार कपडा, खाद्यान्न, पेय पदार्थ, नगद तथा निगरानीका लागि जडान गरिएका क्यामरासमेत चोरी भएका छन्। क्षतिको यकिन विवरण संकलन भइरहेको भए पनि लाखौं रुपैयाँ बराबरको धनमाल हराएको व्यवसायीहरूको भनाइ छ।

आइतबार बिहान दैनिकजस्तै पसल खोल्न पुगेका व्यापारीहरूले भित्रको अवस्था देखेपछि मात्रै चोरी भएको थाहा पाए। बाहिरी ढोका र ताला नफुटेको देखिएपछि सुरुमा सबै अन्योलमा परेका थिए। त्यसपछि गरिएको निरीक्षणमा भवनको छानामाथिको जस्तापाता हटाएर चोरहरू पसलभित्र प्रवेश गरेको संकेत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा भेटिएका अवस्थाले चोरी गर्ने समूहसँग प्रशस्त समय रहेको अनुमान गरिएको छ। उनीहरूले एउटा चटपटे पसलमा उपलब्ध सामग्री प्रयोग गरेर चटपटे बनाएर खाएको, त्यसपछि नजिकैको बिर्यानी पसलमा पुगेर खाना खाएको र त्यहाँ रहेका पेय पदार्थ तथा अन्य खाद्य सामग्रीसमेत बोकेर गएको व्यवसायीहरूले बताएका छन्।

अनुसन्धानलाई जटिल बनाउने उद्देश्यले अधिकांश पसलमा जडान गरिएका सीसीटीभी क्यामरा नै उखेलेर लगिएको देखिएको छ। प्रहरीका अनुसार भिडियो प्रमाण नष्ट गर्ने नियतले यस्तो गरिएको हुन सक्ने सम्भावनालाई अनुसन्धानको आधार बनाइएको छ।

मुन्ना फेसनबाट करिब ५० हजार रुपैयाँ नगद, १३ थान सर्ट र एउटा सीसीटीभी क्यामरा हराएको सञ्चालक सुमोद चौरसियाले जानकारी दिए। जायदा फेन्सी स्टोर्सबाट ७ हजार रुपैयाँ नगदसँगै झण्डै एक लाख रुपैयाँ बराबरका कपडा चोरी भएको सञ्चालक नजरुल हसनले बताए।

साजहान फेसनका सञ्चालक जसिम अन्सारीका अनुसार उनको पसलबाट ८० हजार रुपैयाँ नगद, करिब ४० हजार रुपैयाँ मूल्यका कपडा र एउटा सीसीटीभी क्यामरा चोरी भएको छ। त्यसैगरी, शुद्ध चटपटे पसलबाट २४ वटा रेड बुल, पाँच पेटी चाउचाउ तथा अन्य खाद्य सामग्री हराएको सञ्चालक अरबिन्द कुमार गुप्ताले बताए।

जमजम बिर्यानी हाउसबाट एक कार्टुन डिउ पेय पदार्थ र ४ सय रुपैयाँ नगद चोरी भएको सञ्चालक गुलाम कैसले जानकारी दिए। शाहिन फेन्सी स्टोर्स एण्ड ब्याग हाउसका सञ्चालक जाबेद अन्सारीका अनुसार १० हजार रुपैयाँ नगद तथा २० वटा ब्यागसमेत चोरी भएका छन्।

एकै राति बजारका धेरै पसलमा चोरी हुँदा पनि कसैले कुनै अस्वाभाविक गतिविधि महसुस गर्न नसक्नुले सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको व्यवसायीहरूको भनाइ छ। उनीहरूले रात्रीकालीन गस्ती बढाउन, बजार क्षेत्रमा निगरानी प्रणालीलाई प्रभावकारी बनाउन र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग माग गरेका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय जीतपुरको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ। सम्भावित प्रवेश मार्ग, उपलब्ध भौतिक प्रमाण तथा अन्य प्राविधिक आधारहरूको अध्ययन भइरहेको प्रहरीले जनाएको छ। साथै घटनामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गर्न खोजी अभियान तीव्र पारिएको प्रहरीको भनाइ छ।

पसलभित्रै बसेर खाना खाने, त्यसपछि सीसीटीभी क्यामरासमेत बोकेर फरार हुने शैलीका कारण यो घटना सामान्य चोरीभन्दा फरक र पूर्वयोजनाअनुसार गरिएको देखिएको स्थानीयको भनाइ छ। व्यापारीहरूले दोषीलाई छिट्टै पक्राउ गरी चोरी भएका सामान बरामद गर्न सुरक्षा निकायसँग माग गरेका छन्।

Leave a review

This will close in 0 seconds