कलैया । बाराको सुवर्ण गाउँपालिका-२ सनफुलवामा रूखको हाँगा काट्ने क्रममा च्यापिएर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार बिहान करिब ८:३० बजे सुवर्ण गाउँपालिका–३ सन्तगज निवासी शिवधारी पण्डितको जग्गामा रहेको पकडको रूख बाबुलाल यादवले खरिद गरेका थिए। उक्त रूख काट्ने क्रममा सुवर्ण गाउँपालिका–१ रामटोलमा बस्ने अन्दाजी ५५ वर्षीय जोखन महरा अर्को हाँगाले च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको जानकारी बिहान ९ बजे इलाका प्रहरी कार्यालय कवहीगोठमा प्राप्त भएपछि प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा खटिएको सोकोसहितको टोलीले घटनास्थलको मुचुल्का लगायत आवश्यक अनुसन्धान गरेको बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि दिउँसो १२:२० बजे प्रादेशिक अस्पताल कलैया पठाइएको छ।


