युवतीमाथी दुर्व्यवहारको आरोपपछि युवक कुटिए

साझेदारी डेलि
146 पाठक संख्या

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११ अमाडारमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि स्थानीयले एक युवकमाथि आक्रमण गरेका छन्। घटनामा आरोपित युवक र युवती दुवै घाइते भएका छन् भने उनीहरूको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेको छ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२८ निवासी ३४ वर्षीय अजय सहनीमाथि स्थानीय १९ वर्षीया युवतीलाई एकान्त स्थानमा लगेर जबर्जस्ती दुर्व्यवहार गरेको आरोप लागेको छ। घटनाका क्रममा युवतीले गुहार मागेपछि आसपासका बासिन्दा घटनास्थलमा पुगेका थिए।

स्थानीयले सहनीलाई नियन्त्रणमा लिएर नजिकैको विद्युत् पोलमा बाँधी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका उनलाई प्रारम्भिक उपचारका लागि जीतपुरसिमरा नगर अस्पताल पु-याइएको थियो। चिकित्सकले थप उपचार आवश्यक रहेको बताएपछि उनलाई नारायणी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनी प्रहरीको निगरानीमा उपचाररत छन्।

घटनामा युवतीको घाँटीमा चोट लागेको र सुन्निएको प्रहरीले जनाएको छ। उनको पनि नारायणी अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिएका छन्।

घटनाको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेर स्थानीयको नियन्त्रणमा रहेका सहनीलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। त्यसपछि घटनास्थलको मुचुल्का तयार पार्ने, सम्बन्धित व्यक्तिहरूको बयान लिने तथा आवश्यक प्रमाण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले युवतीमाथि भएको भनिएको दुर्व्यवहार र त्यसपछि स्थानीयले गरेको कुटपिट—दुवै घटनाको छुट्टाछुट्टै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानबाट कानुनी जिम्मेवारी पुष्टि हुने जो–कोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ। साथै, कुनै पनि घटनामा कानुन आफ्नै हातमा नलिन र यस्ता घटना भए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग प्रहरीले आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds